चैते दसैंमा बागलुङ कालिकामा भक्तजनको भिड
ढोरपाटन (बागलुङ) । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैं। बागलुङ कालिका मन्दिरमा विहानैदेखि भक्तजनको घुइँचो लागेको छ। बागलुङ तथा जिल्ला बाहिरबाट आउने भक्तजनका लागि विहानै ४ बजेदेखि मन्दिर खुला गरेपछि भक्तजनको घुइँचो लागेको हो।
बागलुङमा चैतेदसैंलाई भव्य रूपमा बनाउने गरिन्छ। चैते दसैँका अवसरमा भारतीय पर्यटकको पनि उल्लेख्य उपस्थिति छ। चैते दसैंलाई बागलुङको पहिचानका रुपमा समेत लिइन्छ।
भक्तजनको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको बागलुङ कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए। गण्डकी प्रदेशकै प्रसिद्ध शक्तिपिठ मानिने कालिका मन्दिरमा पूजाआराधना गरेमा मनोकाक्षा पूरा हुने जनविश्वास छ।
मन्दिरमा बोका, राँगा, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ। चैतेदसैंका अवसरमा लाग्ने तीन सय वर्ष पुरानो मेला पनि चैत २० गतेदेखि सुरु भएको छ।
मेला २५ गतेसम्म सञ्चालन हुने अध्यक्ष खड्काले बताउनुभयो। मेलाको अवसरमा लोकदोहोरी गीत प्रतियोगिता, कालिका कप पुरुष तथा महिला भलिबल प्रतियोगिता, खुला छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको छ।
पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष खड्काको भनाइ छ। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment