प्रदेश नम्बर ३ को स्थायी राजधानी टुङ्गो लगाउन माग

डिसी नेपाल
९ भदौ २०७६ २२:४६

हेटौंडा। प्रदेश नम्बर ३ को आज अपराह्न बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्ने प्रदेशसभाका सदस्यले स्थायी राजधानीको टुङ्गो लगाउन प्रदेश सरकारले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

उनीहरुले गत साउनमा बाढीपहिरोबाट क्षति पुर्याएको लामो दुरीको सडक, खानेपानी मुहानको तत्काल निर्माण गरी जनतालाई यथासीघ्र सुविधा उपलब्ध गराउन प्रदेश सरकारले सम्बन्धित निकायलाई निर्देशन दिन माग गरे। जनतालाई केन्द्रविन्दुमा राखेर आर्थिक समृद्धिको लागि कृषि, मत्स्यपालन र दूध उत्पादन क्षेत्रलाई प्रोत्साहन गर्ने प्याकेज कार्यक्रम ल्याउन र विपन्न कृषकको छनोटमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको थप गृहकार्य आवश्यक रहेको सदस्यहरुले धारणा व्यक्त गरे।

साथै सो बैठकमा प्रदेशमा सवारी यातायात संशोधन गर्न बनेकोे विधेयक २०७५, प्रदेशमा लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार गर्न बनेको विधेयक २०७६, प्रदेशमा सार्वजनिक, निजी, सहकारी साझेदारीसम्बन्धी व्यवस्था गर्न बनेको २०७६ र प्रदेशसभा सचिवालय व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि क्रमशः सैद्धान्तिक पक्षमा दफावार छलफल गरिएको थियो ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले क्रमश विधेयकको सैद्धान्तिक पक्षमा छलफलका लागि प्रस्ताव राखेका थिए। सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक मङ्गलबार बिहान ११ः०० बजे बस्ने जानकारी गराए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *