रविलाई चोखो देख्ने रास्वपा प्रहरी र अदालतसँग रुष्ट

डिसी नेपाल
२८ चैत २०८१ ११:५१
4.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको यतिबेला कारागारको बास छ।

गत २२ चैतमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई सहकारीको रकम ठगी आरोपमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेसँगै उनी कारागार चलान भएका हुन्।

सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरेसँगै उनलाई पक्राउ गरेर २५ चैतमा पूर्पक्षका लागि थुनामा पठाइएको हो।

रविलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेत नेतृत्वको टोलीले नियन्त्रणमा लिएको थियो। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि पुर्पक्षका लागि कारागार चलान भएपछि रास्वपा भने रुष्ट देखिएको छ।

प्रहरीले गैरकानुनी रुपमा रविलाई राति घरबाट पक्राउ गरेको रास्वपाको आरोप छ। प्रहरीको यस्तो हर्कतले मानव अधिकार उल्लंघन भएको रास्वापाको ठहर छ।

राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराउँदै रास्वपाले पक्राउ पुर्जी बिना नै लामिछानेलाई नियन्त्रणमा लिएको र प्रहरीले ज्यादती गरेको आरोप लगाएको हो।

त्यस लगत्तै बुधबार साँझ पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले पनि रविलाई प्रहरीले गैरकानुनी रुपमा हिरासतमा राखेको निष्कर्ष निकालेको छ।

सहकारी रकम ठगी आरोपमा चैत २२ गते शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।

यसअघि जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका रविलाई त्यसरी छाड्न नमिल्ने र थुनामै बस्नुपर्ने भनी उच्च अदालतले आदेश दिएलगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरको टोली उनको बूढानीलकण्ठस्थित निवासमा पुगेको थियो।

प्रहरीमा चेनअफ कमान्ड हुने र माथिल्लो निकायको निर्देशन मान्नै पर्ने व्यवस्था छ। माथिल्लो निकायको आदेश बोकेर अदालतको आदेश पालनका लागि रवि पक्राउ गर्न पुगेका प्रहरीमाथि रवि त्यतिबेलै खनिएका थिए।

उनले आफूले गिरफ्तारी दिन्छु भन्दा भन्दै पक्राउ गरेको आरोप लगाएका थिए। ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैँ आजै अहिले नै गिरफ्तारी दिँदै छु। साथै न्यायालयका अन्य ढोकाहरु मेरा लागि खुला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढक्ढकाउछु। ममाथि ठूलो अन्याय भएको छ। चितवनको सभा नरोक्नुस्,’ उनले पक्राउ गर्नुअघि सामाजिक सञ्जालमा लेखेका थिए।

रविको अभिव्यक्तिले हौसिएको रास्वपा यतिबेला गिरफ्तारी दिन तयार भइरहँदा प्रहरीले गैरकानुनी रुपमा अदालतको आदेश र पक्राउ पूर्जीसमेत नआई पक्राउ गरेको भन्दै विरोध जनाइरहेको छ।

आफूलाई नयाँ शक्तिका रुपमा उभ्याउन उद्यत रास्वपा निष्पक्ष छानबिनका लागि अदालत र प्रहरीलाई सघाउन उदार देखिनुपर्नेमा त्यसको बरखिलापमा लागेको आरोप लाग्न थालेको छ।

हजारौं नागरिकको करोडौं रकम सहकारीमा डुबेको छ। हजारौं जनता न्यायको पर्खाइमा छन्। यस्तो अवस्थामा केही सहकारीको रकम अपचलनमा रवि पनि मुछिएका छन्। उनीमाथि स्वतन्त्र अनुसन्धानका लागि सघाउनु पर्नेमा बेला बखतमा रास्वपाले हुलहुज्जतको भरमा असहज अवस्था सिर्जना गर्दै आएको आरोप लाग्ने गरेको हो।

उच्चको आदेश चित्त बुझ्दो नभएमा रविलाई सर्वोच्च अदालत जाने बाटो खुला नै छ। गिरफ्तार भएको एक हप्ता बितिसक्दा पनि रविले त्यस्तो गरेका छैनन। उल्टै रास्वपाका कार्यकर्ता अदालत र प्रहरी प्रशासनमाथि खनिन थालेका छन्।

उनीहरूले रविमाथिको अभियोग मिथ्या र केवल षड्यन्त्र मात्र हो भन्ने भाष्य निर्माण गर्न खोजिरहेका छन्। त्यसको उदाहरणको रुपमा केन्द्रीय सदस्य ज्वाला संग्रौलाको टिप्पणीलाई लिन सकिन्छ।

उनले सामाजिक सञ्जालमा रविलाई थुनामा पठाउन आदेश गर्ने न्यायाधीशलाई ‘पार्टीको झोले’ भनेर टिप्पणी गरेकी छन्। उनको यस टिप्पणीलाई लिएर अदालतको अवहेलनासम्बन्धी मुद्दासमेत बुधबार सर्वोच्च अदालतमा दायर भएको छ।

रवि पक्राउ परेको भोलिपल्ट चितवनमा रास्वपाले आयोजना गरेको खबरदारी सभामा पनि न्यायालय र प्रहरीको चर्को आलोचना गरेको थियो। रास्वपा उपसभापति स्वर्णिम वाग्लेले रवि पक्राउ प्रकरणलाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी दिएका थिए।

रास्वपा केन्द्रीय कार्यालयमा बुधबारदेखि जारी सचिवालय बैठकले पनि पार्टी सभापति रविको चैत २२ गते राति भएको गिरफ्तारी कानुनको उचित प्रक्रिया विपरीत रहेको ठहर गरेको थियो।

बैठकमा लामिछानेमाथि राज्यको निर्मम प्रतिशोध रहेको र उनीमाथि भएको प्रहरी दमन र मानवअधिकार उल्लङ्घनका घटनाका सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगलाई सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न पार्टीको तर्फबाट प्रेसित गरेको पत्र प्रस्तुत गरिएको थियो।

यहीबीच रास्वपाले आगामी बैशाख ४ गते केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको छ। रास्वपाका पछिल्ला गतिविधि हेर्दा पार्टीको क्रियाशिलता भन्दा रविको रक्षामा अधिक समय खर्चिएको देख्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.