पोखरामा प्रदेशस्तरीय छेलो प्रतियोगिता हुने

डिसी नेपाल
१० भदौ २०७६ ७:५५

पोखरा । विभिन्न पर्व तथा उत्सवमा प्रचलित छेलो (ठेलो) प्रतियोगिता पछिल्लो समय हराउँदै गएको अवस्थामा पोखरामा यस खेलको प्रदेशस्तरीय प्रतियोगिता गरिने भएको छ। पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट र इन्द्रेणी एकीकृत विकास केन्द्रको अगुवाइमा हरितालिका तीजका अवसरमा आयोजना गरेको तीज मेलामा यही भदौ १४ गते गण्डकी प्रदेशस्तरीय छेलो प्रतियोगिता गर्न लागिएको हो।

पोखरा महानगरपालिका–१ टुँडिखेलको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको समन्वय भूतपूर्व खेलाडी मञ्चले गरेको छ। छेलो खेलको संरक्षण र विकासका लागि प्रतियोगिता आयोजना गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले बताए।

केही वर्षअघिसम्म नेपालमा छेलो प्रतियोगिता अत्यधिक हुने गरे पनि पछिल्लो समय हराउँदै गएको बताउँदै उनले भने, “पछिल्लो समय छेलो प्रतियोगिता कम हुँदै गएको छ, खेलको संरक्षणका लागि प्रतियोगिता गरेका हौँ।”

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ११ हजार १०१, रु छ हजार १०१ र रु तीन हजार १०१ पुरस्कार प्रदान गरिनेछ। खेलले आपसी भाइचाराको सम्बन्ध बढाउने र नेपालीको मौलिक चाड तीजका अवसरमा उक्त प्रतियोगिताले मेला अवलोकन गर्न आउनेलाई समेत मनोरञ्जन मिल्ने विश्वास गरिएको छ।

छेलो खेलको पनि आवश्यक तालीम र सिकाइका आधारमा निरन्तर प्रतियोगिता हुनुपर्नेमा जोड दिइएको छ। तीज मेला यही भदौ ११ देखि १७ गतेसम्म सञ्चालन हुनेछ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *