धनगढीमा मनाइयो चलचित्र पत्रकारिता दिवस, बोर्ड गठनको माग
धनगढी । विविध कार्यक्रमका साथ धनगढीमा २६औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवस २०८२ मनाइएको छ।
चलचित्र पत्रकार संघ नेपाल, कैलालीको आयोजनामा ‘सुदूरपश्चिमको भाषा, कला, साहित्य, पर्यटन र चलचित्र क्षेत्रको विकासमा सरोकारवालासँग अन्तरक्रिया’ भन्ने मूल विषयका साथ दिवस मनाइएको हो।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले सुदूरपश्चिमका ९ वटै जिल्लाको संस्कृति बचाउन राज्य गम्भीर हुनुपर्ने बताइन्। उनले कलाकार र संस्कृति क्षेत्रमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिँदै पत्रकारिता नै अहिलेको सबैभन्दा विश्वासिलो क्षेत्र भएको उल्लेख गरिन्। उनले पत्रकारलाई हुने दबाब, अपमान र हिंसाप्रति चिन्ता व्यक्त गर्दै निष्पक्ष पत्रकारिताको आवश्यकता औंल्याइन्।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशीले प्रतिष्ठानको बजेट सिलिङ घटाइएको बताए। आफूहरू चलचित्र महोत्सव आयोजना गर्ने तयारीमा रहेको उनले जानकारी दिए। विविध चुनौतीबीच प्रज्ञाले निरन्तर काम गरिरहेको उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख बाल नरसिंह राणाले कैलालीमा थुप्रै रमणीय पर्यटकीय स्थल रहेको र चलचित्रका लागि उपयुक्त ठाउँ रहेकोमा जोड दिए। कलाकारहरूलाई फिल्म र भिडियो छायांकनमा प्रहरी प्रशासनले सहज वातावरण प्रदान गर्ने उनले बताए।
यस्तै चलचित्र पत्रकार संघ नेपाल, कैलालीका अध्यक्ष पुष्पराज जोशीले सुदूरपश्चिममा प्रदेशस्तरीय चलचित्र विकास बोर्ड गठनको आवश्यकता रहेको औंल्याए। कलाकारको संगठन बीना चलचित्र पत्रकार संघको अर्थ नरहने उल्लेख गर्दै अन्य प्रदेशमा गठन भएको चलचित्र बोर्ड सुदूरपश्चिममा पनि गठन गर्न सुझाव दिए।
कार्यक्रममा पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव शिवराज भट्ट, पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंह, नेपाल प्रेस युनियनका प्रदेश उपाध्यक्ष टेकेन्द्र देउवालगायतको उपस्थिति थियो।
वरिष्ठ चलचित्रकर्मी उदय बोहरा, कलाकार सरस्वती खड्का, बोक्टानी किङ, सुरेन्द्र संगमलगायत कलाकार सहभागी थिए।
कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघका सचिव कृत बहादुर विष्टले गरेका थिए भने स्वागत मन्तव्य संघका उपाध्यक्ष विवेक सिङ नागरीले राखेका थिए।







डिसी नेपाल








Facebook Comment