बाढीपहिरोले तिलगाउँवासी विस्थापित, अन्नबाली सखाप भएपछि राहतको पर्खाइमा

डिसी नेपाल
५ जेठ २०८२ १६:०८
168
Shares

सिमकोट (हुम्ला)। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमपहिरोले क्षति पुर्‍याएको छ। यही जेठ १ गते राति आएको बाढीपहिरोले तिलगाउँमा सिँचाइ, जलविद्युत्, खानेपानीलगायत संरचनामा क्षति पुर्‍याएको हो।

नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार तिलगाउँभन्दा माथि रहेका दुई हिमताल भासिएका छन्। हिमताल भासिएपछि गाउँमा बाढीपहिरो आएको उनले बताए। ‘हिमताल फुटेका होइनन्, जमिन नै भासिएको हो’, वडाध्यक्ष तामाङले भने। आइतबार नौ घण्टा हिँडेर उनको टोली ताल भासिएको ठाउँमा पुगेको थियो।

‘लेदो र पहिरो आउने क्रम रोकिएको छ। यहाँका बासिन्दा त्रसित छन्’, उनले भने।

खोलाको दूषित पानी पिउँदै स्थानीय

तिलगाउँका १९ परिवारका ३३ जना गाउँमा बाढीपहिरो आएपछि खोलाको दूषित पानी पीउन बाध्य छन्। खानेपानीका पाइप र मुहानमा क्षति पुगेको वडाध्यक्ष तामाङले बताए। ‘गाउँमा ल्याइएको खानेपानीको मुहान नै बगाएको छ । पाइप फुटेका छन् । स्थानीयले खोलाको धमिलो पानी पिउन थालेका छन्’, उनले भने।

त्रिपालमुनिको बास

तिलगाउँमा बाढीपहिरो आएपछि यहाँका ३३ जना विद्यालय नजिकै पाल टाँगेर बस्दै आएका छन्। गाउँमा बूढापाका र बालबालिका मात्रै छन्। उनीहरु पहिरोको त्रासले तिलगाउँभन्दा टाढा त्रिपालमुनि बस्न थालेका छन्। ‘दिउँसो खानेकुरा लिन गाउँमा आउने गरेका छन्, राति सुत्न भने त्रिपाल टाँगेकै ठाउँमा फर्किने गरेका छन्’, वडाध्यक्ष तामाङले भने।

गाउँका अन्य युवायुवती रोजगारीका लागि तिब्बत गएका छन्। हिमपहिरोले विभिन्न भौतिक पूर्वाधारदेखि खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ।

जलविद्युत् आयोजनामा क्षति

बाढीले गाउँ नजिक रहेको १५ किलोवाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। अहिले यहाँका बासिन्दा बिजुलीबिहीन अवस्थामा छन्। मोबाइलमा चार्ज गर्न समस्या भएको स्थानीयले बताएका छन्। पाक्न लागेको उवा बाली पनि सबै सखाप भएको छ। उवा बाली सबै बगाएपछि स्थानीयवासी राहतको प्रतीक्षामा रहेका वडाध्यक्ष तामाङले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *