कविता:मनभित्रको प्रेम तरंग
मनभित्रको प्रेमको तरंगलाई हेर
निलो आकास मुनिको बगैंचा हेर
बगैंचा भित्र फुली झुलेका फूल हेर
आफूले चाहेको प्रेमिकाको रुप हेर।
माहुरी फूलमा हेर रस चुस्दै मनोरम
पुतली बागमा हेर उडेका छन् अनुपम
राम्रो नराम्रो तिम्रै हो प्रेमको तरंगमा
रमेको भाव झुक्नेछ प्रेमको बिछोडमा।
मनै हो प्रेमको मूल झरना सरि फुटने
मनै हो केतकी फूल फोहरमा त्यो फुलने
जगाउ मनमा प्रेम सारा खुसी भइदिने
लगाउ मनमा माया सारा बिश्व हँसाउने।
उज्यालो मनको ज्योति शरीर सब चम्कने
आत्मामा सूर्य चम्किन्छ ज्योतिको रुप झल्किने
ठूलो मन ठूलो ज्ञान शरीर सब चम्कने
अगाडि पछाडि सबै लाग्छन् बास्नाको पछि लागने।
तरंग मनको हेर त्यो कति बिशाल छ
फुलेका बागको फूल त्यो कति अनमोल छ
रुप यसको कुनै छैन त्यो देखिने शरीरमा
मन भित्र लुकेको छ त्यो आफ्नै तरंगमा।
तृष्णा मनको प्यासी दौडिरन्छ बेगमा
कुन बेला कहिले छुट्छ त्यो कालको भेटमा
मनै हो मोहको आषिक झुक्दैन कहिलेपनि
हिर राजा खुली हिँड्छन यहाँ जहिलेपनि।
फुलेको फूल त्यो हेर त्यो कति रमणीय छ
खसेमा त्यो फुलै फेरि भुइँमा ओइलाउँछ
हाँसी त्यो मन मुस्काउ शरीरै हाँसने गरी
शितल त्यो मनमा ल्याउ चन्द्र मुस्काउने गरी।
तरंग मनमा छुट्छ हावा हुरी चलेसरी
फुलेका फूल ती हेर बतासमा झुलेसरी
मनै हो तरंगले चल्ने त्यो सदा गतिशील छ
उद्देश्य भड्किँदा खेरी त्यो सदा भयभित छ।
नराख मनमा क्लेस दुराचारी भइकन
राख मनमा प्रेम सदाचारी बनिकन
नछोओस् मनले दोष कदापि कहिलेपनि
छरोस् सुबासको बास्ना फैलियोस जहिलेपनि।
आशा उमंग ती सारा मनका तरंग हुन्
लोभ मोह र पापादि ती सबै अन्तरंग हुन्
नफुटोस् कहिले तिम्रो त्यो प्रेमको घडा कतै
नटुटोस् मनको तरंग जता गएपनि त्यतै।
















Facebook Comment