कर्मचारीलाई दोष लगाएर गृहमन्त्री चोख्याउने सिटौलाको प्रयास

डिसी नेपाल
११ जेठ २०८२ ११:२०
1.2k
Shares

बिराटनगर। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै एक जना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको टिप्पणी गरेका छन्।

आइतबार बिराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने समेत बताए। यसअघि शनिबार विराटनगरमा नै कांग्रेस नेता डा. शेखर कोइरालाले गृह मन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजिनामा दिन सुझाव दिएका थिए।

नेता सिटौलाले विगतमा मन्त्रीहरु माथि नै कुरो उठेकोले राजीनामा दिएको भएपनि अहिले अध्यागमन विभागको कर्मचारी माथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने बताए।

फरक प्रसंगमा उनले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था बारे जनमत संग्रह आवश्यक नभएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझै परिष्कृत र परिमार्जित गर्न संविधानको समिक्षा गरेर संसोधन आवश्यक भएको दाबी गरे। सिटौलाले राजसंस्था कुनै पनि हालतमा फर्किन नसक्ने दाबी पनि गरे।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति समेत आवश्यक नभएको तथा नेपालका लागि संघिय लोकतान्त्रिक संसदीय प्रणाली नै उत्तम व्यवस्था भएकाले संविधान संशाेधन गरेर थप परिमार्जित गर्नुपर्ने उनले बताए।

त्यस्तै सिटौलाले २०८२ को मंसिरमा कांग्रेसको महाधिवेशन सम्भव नभएकोले ०८३ को दशैंको आसपासमा महाधिवेशनको तयारी गर्नुपर्नेमा जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *