‘रण-अम्बिका शाह सेवा पुरस्कार’ प्रदान

डिसी नेपाल
१८ जेठ २०८२ ७:१८
36
Shares

काठमाडौं। रण-अम्बिका शाह सेवा गुठी, नेपालले साहित्यिक तथा सामाजिक क्षेत्रमा क्रियाशील संस्था र व्यक्तिलाई २०८२ सालको ‘रण–अम्बिका शाह सेवा पुरस्कार’ प्रदान गरेको छ।

शनिबार काठमाडौंमा गुठीद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चिकित्सक प्रा.डा. मृगेन्द्रराज पाण्डेले समाजसेवी उज्ज्वलविक्रम थापा र साहित्यिक संस्था नेपाल स्रष्टा समाजलाई उक्त पुरस्कार प्रदान गरे।

स्रष्टा समाज तथा समाजसेवी थापालाई पुरस्कारकासाथ जनही नगद राशि एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरियो। समाजको पुरस्कार समाजका अध्यक्ष तथा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले ग्रहण गरे।

प्रमुख अतिथि प्रा.डा. पाण्डेले गुठीले गरेको सामाजिक कामको प्रसंशा गर्दै सबैले राम्रो काम गर्दै जानुपर्नेमा जोड दिए।

उक्त अवसरमा गुठीले विभिन्न सात संस्थाहरूलाई आर्थिक सेवा सहयोग प्रदान गरेको छ। यस वर्ष सेवा सहयोग प्राप्त गर्ने संस्थाहरूमा राष्ट्रिय युवा सेवा कोष, अन्तरदृष्टि नेपाल, जोन्ता क्लब, नेपाल चिकित्सा मनोविद् संघ, प्राकृतिक स्वास्थ्य संस्था, बाल शान्ति गृह र जोन्ता क्लब मार्फत एक अन्य संस्था रहेको छ।

कार्यक्रममा गुठीका सचिव किरण थापाले साहित्यका माध्यमबाट समाजका लागि भाषा, संस्कृतिको उत्थानमा करिब दुई दशकदेखि क्रियाशील संस्था नेपाल स्रष्टा समाजलाई र एसिड आक्रमणबाट पीडित महिला तथा जलनबाट पीडितहरूको सेवामा निरन्तर समर्पित समाजसेवी उज्ज्वलविक्रम थापालाई, तिनको सामाजिक योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको बताए। उनले सात संस्थालाई पनि नगद राशिसहित आर्थिक सहयोग गरिएको उल्लेख गरे।

पुरस्कृत संस्था स्रष्टा समाजका अध्यक्ष साहित्यकार रोदनले स्रष्टा समाज र यसले गरेको कामका बारेमा जानकारी दिँदै यो पुरस्कारले आफूहरूको उर्जा थपिएको बताए। अर्का पुरस्कृत व्यक्तित्व समाजसेवी थापाले आफू बाल्यकालदेखि नै समाजसेवातर्फ आकर्षित भएको बताउँदै पछिल्लो चरणमा आफूले गरेका केही कामहरूबारे बताए।

कार्यक्रममा बाल शान्ति गृह, दाङका भोलानाथ योगीले गुठीले गरेको आर्थिक सहयोगले आफूहरू उत्साहित भएको बताए।
उक्त अवसरमा डा. चिन्तामणि योगी, मिता शाह राणाले गुठी र पुरस्कारका विषयमा बोले।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.