झगडा, संग्राम र युद्ध

शंकरप्रसाद रिजाल
२४ जेठ २०८२ ७:१४
196
Shares

झगडा, संग्राम र युद्ध यी तीनवटै बिषयहरु आपसी अनमेल र फरक विचार राख्नेहरुका कर्महरुको उपज हो, जसबाट सुरुमा झगडा हुन्छ, भनाभन हुन्छ र अन्त्यमा यसले युद्धको रुप लिन्छ। यी तीनवटै शब्दहरु सुकर्मका होइनन्।

यसले मानिसको जीवनमा अशान्ति र बैरभाव उत्पन्न गराई सार्थक जीवनलाई निरर्थक र नैराश्यतामा परिणत गराउने गर्दछ। हुन त झगडा, संग्राम र युद्ध संसारमा कहिल्यै नभएको हो र!

सत्य युगको पालामा हेर्ने हो भने त्यो बेलामा देवता र दानवको कत्रा कत्रा झगडा, संग्राम र युद्ध भए। दानवहरु जहिलेपनि देवताहरुलाई दुःखमात्र दिइरहने र आफ्नो बर्चश्व कायम राख्न देवी  देवताहरुलाई तील बराबरपनि नगनी खाली घमण्ड मात्र गरी दम्भले चूर भइ रहने प्रवृत्तिले नै त्यो बेलामा झगडा संग्राम र युद्ध भएको हो। नत्र किन झगडा र संग्राम र केको लागि। यो सब फरक बिचारले नै गर्दा भएको मानिन्छ।

यो झगडा, संग्राम युगै पिच्छे भएर आएको छ। त्रेता युगमा भगवान रामचन्द्र र रावणको महासंग्रामको बारे हामीले रामायण कथामा बारम्बार सुनिरहे कै कुरा हो। कारण रावण एक बुद्धिमान लंकाको राजा भइकनपनि उसमा एउटा घमण्डको आगो सधैं बलिरहेको हुन्थ्यो, सधैं अर्काको कुभलो सोची आफ्नै मृत्युको अगाडि आफैं पुग्ने कोशिश गर्दथ्यो। आखिर घमण्डले नै उसको मृत्यु भगवान रामचन्द्रबाट हुनपुग्यो। यस्तो घमण्डले आजसम्म विश्वमा कसैलेपनि विजय प्राप्तगर्न सकेका छैनन्।

यो झगडा, संग्राम र युद्धमा एक जो बलियो छ उसले विजयी प्राप्त गर्ने र जो र्निबलियो छ उसले अवस्य हार व्यहोर्नु पर्ने हुन्छ जसले उसलाई ठूलो भौतिक क्षति व्यहोर्नु पर्ने हुन्छ र त्यस्तै परेमा आफ्नैसमेत हत्त्या हुने सम्भावना बढी हुन्छ।

यसैगरी द्वापर युगमापनि भगवान श्रीकृष्णले दुष्ट प्रवृत्तिको दुर्योधनले आफ्ना पञ्च पाण्डव दाजुभाइहरुलाई एक अंशपनि जमीन नदिएकोले यसैको कारण श्रीकृष्णले अनेक प्रपञ्च रची न्यायको खातिर पञ्च पाण्डबहरुलाई साथ दिइ त्यत्रो ठूलो महाभारतको युद्ध गरी कौरवहरुलाई नराम्ररी हराएका थिए।आखिर जे सुकै होस्, सत्यको जीत अवश्यम्भावी छ।

पछि आएर कलीयुगको सुरुवातपछि त झन् मानिसहरु कम चेतना भएकाले र जंगली स्वभाव भएकाले उनीहरुमा दम्भ नै बढी हुने र यसले रिस, राग, लोभ र मोह बढी हुने भएकोले यस्ता झगडा, संग्राम र युद्ध हजारौं हजार भइ यो

युगको लाखौं वर्ष व्यतित हुँदै आइरहेको छ। बलियाले निर्धोलाई धम्क्याउने, झगडा गर्ने, संग्राम गर्ने र ठूलो जथ्थालाई हत्त्या नै गरिदिने प्रथा समाजमा व्याप्त थियो। देश देशका शासकहरुपनि आफ्नो शक्तिको बर्चस्व कायम राख्न संग्रामै गर्दथे र लाखौं मानिसहरुलाई मार्ने काम गर्दथे। आफ्नो फरक मत राख्नेहरुलाई त्यो बेलामा अनेक प्रताडन दिइ विभत्स रुपले हत्या गर्ने गर्दथे।

यसरी यो कलीयुग हत्त्या नै हत्त्याले ओल्टो कोल्टो फेर्दै आज आएर हत्त्यानै हत्त्यामा गुज्रँदै यो समाज चलिरहेको छ। आजका विश्वका हरेक राष्ट्रको इतिहास पल्टाउने हो भने कुन राष्ट्र त्यस्तो छ जहाँ झगडा, संग्राम र युद्ध नभएको होस्। कुनै देश त्यस्तो छैन जहाँ युद्ध नभएको।

राष्ट्र नै झगडा, कलह, संग्राम र युद्धमा नुहाई आएको छ भने समाजमा, जातिमा, धर्ममा र हरेक झुण्डमा र हरेक परिवारमा झगडा हुनु कुनै नौलो कुरा होइन। देशले जे सिकायो समाजले, परिवारले र नागरिकले त्यही सिक्ने हो र त्यही अनुसारनै अनुसरण गरी आफ्नो जीवन निर्बाह गर्ने हो।

यो झगडा, कलह, संग्राम र युद्धले हजारौं लाखौँ बर्षदेखि जरा गाढेर सकेकोले अब यो कुनै हालतमापनि समुल अन्त्य हुने कुरा एउटा कपोल कल्पित कुरामात्र हो। एक त यो कलियुगको समय हो जहाँ जन्मेका हरेक मानिसहरुमा कलिको अंश र हंशले बास गरेको हुन्छ।

जन्मिनासाथ हरेक मानिसहरु आफ्नो उमेर अनुसार लोभ, मोह, काम, क्रोध, मद् र मात्सर्यको अपगुण बढ्दै जान्छ र त्यसैबाट कलह, झगडा संग्राम र युद्धको सुरुवात हुने कुरा निश्चित् र अपरिहार्य छ।

आज संसारको राजनीति, सामाजिक, आर्थिक, सांस्कृतिक र धार्मिक पक्षहरुको अबलोकन गर्ने हो भने सबै पक्षहरुमा बाहिर जे देखिएको छ ,भित्र त्यस्तो छैन। भित्र अनेकन कलह, झैझगडा, बैमनश्यता, संग्राम र युद्ध भइनै रहेको पाइन्छ।

कोही शान्तसँग बसेको हामी देक्ख्दैनौं। व्यक्ति, समाज, देश र अन्तर्राष्ट्रिय जगतनै झगडा, संग्राम र युद्धमा रातदिन जेलिइरहेको देखिन्छ। आजको अभावको संसारमा खान पाउने भन्दा खान नपाउने मानिसहरु धेरै छन्। कोही धनी अशाद्धै छन् त कोही गरीब माग्ने। कोही महलमा बस्छन्।

र चौरासी ब्यञ्जनको परिकारको खाना लिइ लचकदार बेडमा सुत्छन् भने कोही झोपडी या सडकमा बसी एक छाक मुस्किलले खाइ, भुईंमा सुत्ने गर्दछन्। यो अन्तरमा नै सबैभन्दा पहिले कलह सुरु हुन्छ। कलहबाट झगडा, झगडाबाट संग्राम सुरु हुन्छ र ठूलो सानोको खाडलको निर्माण हुन्छ।

राजनीतिक पक्षमा हेर्ने हो भने राज्य शक्ति हत्याउनको लागि अनेकौं जाल झेल प्रपन्च र षड्यन्त्रको जालो बुनी आफू सत्तामा आउन एकले अर्कालाई हत्या गर्ने काम संसारमै भएको हामी देखिरहेका छौं। संसारमा आफ्नो अधिकार जमाउन त्यस्ता वलशाली व्यक्तिहरु कोपछि परेका छन् जसले मान्छे नमारी सत्तामा आएका छन्।

एउटा सानो कुरामा निउँ खोजी कलह गर्ने, झगडा गर्ने संग्राम गर्ने र मौका परेको खण्डमा युद्ध नै गरी देश हत्त्याउने, आफ्नो प्रतिद्वन्द्वीलाई सखाप पारी आफू सत्तामा आउने चलन यो आजको मात्र नभइ हजारौं बर्षदेखि चली नै आएको छ। यो निरन्तरता यो कलियुग रहेसम्म, बढ्दै यसले बिष बमन गरेसम्म हुँदैन जाने कुरा हो।

संसारमा को छ त्यस्तो व्यक्ति जसले कलह रोक्न सकोस्, जसले झगडा रोक्न सकोस्, जसले संग्राम र युद्ध रोक्न सकोस्। खाली आफू चोखो हुने र आफ्नैमात्र गुनगान गाउने र प्रशंशा गर्ने दानव प्रवृत्तिका मानिसहरु भने कहीँ कतै कमी छैनन्।

जहाँ हेर्यो उतै लुट र भागबण्डाको खेती गरी आफू बैभावशाली बन्ने र आफ्ना सारा कर्तुतलाई लुकाई आफू चोखो हुने प्रबृत्ति संसारमा अहिले त झन् धेरै बढ्दै गइरहेको छ। खोइ समानता, खोइ भाइचारा, खोइ मेल-मिलाप, खोइ समन्वय। केही छैन।

बलियाले निर्धालाई दबाउने, धनीले गरीब बढाउने, मानिसले मानिसलाई हेप्ने ठग्ने, लुट्ने, आफ्नै दाजुभाइलाई मार्ने, धर्मपत्नीलाई मार्ने, श्रीमानलाई मार्ने, अर्को जातिलाई सखाप पार्ने, जस्ता कामहरु यहाँ झन् झन् बढ्दै गइरहेको छ।

कोही लुटी खाने, कोही ठगी खाने, कोही हाकाहाकी डाका डकैती गर्ने र समाजमा सधैं अराजकता मच्चाई कोलाहल बढाउने, आन्दोलन गराउने गोला बारुद बर्साउने र आफ्नो अधिकार जमाउन जे पनि गर्न आगाडि सर्ने जस्ता कामहरु संसारमै भई रहेको देखिन्छ चाहे बिकसित देशमा होस्, विकासोन्मुख देशमा होस् या अविकसित देशरुमा होस् कति पनि कलह, झगडा, संग्राम र युद्धले देश छोड्न सकेको छैन।

यी झगडा, संग्राम र युद्धले आक्रान्त भएको विश्वलाई कसले मार्गदर्शन गरी संसारका मानिसलाई कसरी शान्ति दिने भन्ने कुराको सोच आज कसैलेपनि प्रवाह गर्न सकेका छैनन्। चाहे अमेरिकाको राष्ट्रपति, चीनको राष्ट्रपति, भारतको राष्ट्रपति, बेलायतको राजा हुन् वा रुसको राष्ट्रपति पुटिननै किन नहुन्।

त्यस्तै धर्ममा लागेका ठूला ठूला धर्म गुरुहरु, समाज सुधार्ने भनी स्थापना भएका सामाजिक संस्थाहरु र संसारमा झगडा र युद्ध गर्नबाट रोक लगाउने संयुक्त राष्ट संघ नै किन नहोस्, यी सब संगठनहरु आज संसारको कोलाहल झैझगडाहरु देख्दा नतमस्तक र “किमकर्तबय बिमुढ”बनी बसेका छन्। आज संसारको कोलाहल, संग्राम र युद्ध देख्दा मानिस हरेक पलपलमा शान्ति, शान्ति, शान्ति भन्दै चिच्याइरहेका छन्।

शान्ति भने कुन चराको नाम जस्तै भएको छ। तसर्थ अब मानिसले, परिवारले, समाजले, राष्ट्रले र विश्वले कलह, झगडा, संग्राम र युद्ध होइन त्यसको सट्टामा शान्ति समन्वय, भाइचारा, आपसी सम्बन्ध, मेलमिलाप र सहअश्थित्त्वको अभियानको थालनी गरी भोलिको संसार र भावी पिँढीहरुलाई सुख शान्ति र उत्तरोत्तर समृद्धिको कामना राखी जीवन सुखमय र आनन्दमय बनाऔं। यसैमानै सबैको कल्याण र भलो हुने निश्चित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.