पाँच दलका प्रमुख सचेतकसँग सभामुखको छलफल, रास्वपाले भन्यो-अबरोध आफूहरूको बाध्यता

डिसी नेपाल
२ असार २०८२ १२:०९
264
Shares

काठमाडाैं। प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रसँग सहमति भए पनि रास्वपा, राप्रपा लगायतका दलको अवरोध जारी रहेपछि सभामुख देवराज घिमिरेले अहिले बानेश्वरमा प्रमुख पाँच दलसँग छलफल गरिरहेका छन्।

छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही छन्।

सभामुखले संसदमा जारी अवरोधबारे आज बिहान पनि रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र प्रमुख सचेतक परियारसँग बालुवाटारमा छलफल गरेका थिए।
साे छलफलमा भेटमा सभामुखले भने-दुई सातादेखि विपक्षीको अवरोधले संसद बन्धक भयो। बजेटबारे ब्यापक छलफल गर्नुपर्ने, समृद्ध बनाउने बेला संसद अबरूद्ध हुँदा जनतामा गलत सन्देश गएको छ। विपक्षीले उठाएका मुद्दा गम्भीर छन्, त्यही भएर दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको हुँ। तर, अब रोक्ने अवस्था छैन।’

उनले संसदको नेतृत्वका हिसाबले आफूले संवैधानिक सीमालाई पनि ख्याल गर्नु पर्ने भन्दै राष्ट्रिय सभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको र यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नै पर्ने बाध्यता रहेकाे सुनाएका थिए।

जवाफमा रास्वपाका नेताहरूले विपक्षीले उठाएका माग गम्भीर रहेकाे जनाउँदै जनताको वास्वविक समस्या उठाएका कारण आफूहरूका माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद अबरोध बाध्यात्मक भएको बताएका थिए। रास्वपाले अहिलेकै अवस्थामा आफ्ना मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा नरहेकाे जनाउँदै अहिलेको निकासका लागि छलफल र संवाद गर्ने बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.