घुस लिएको आरोपमा प्रहरी हवल्दार र जवानविरुद्ध मुद्दा दायर

डिसी नेपाल
१५ भदौ २०७६ १७:४७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बनेपाका प्रहरी हवल्दार रामहरि मानन्धर र प्रहरी जवान हरिचन्द्र बाँनियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मेलम्चीदेखि काठमाडौँतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा पर्ने बनेपा ट्राफिक पोष्टसमेतका कर्मचारीले नदीजन्य पदार्थ ढुवानी गरेवापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा केही समय पहिले आयोगले नियन्त्रणमा लिएको थियो।

आयोगले उनीहरुबाट रु दुई हजार रकम र विभिन्न कम्पनीका रु दुई लाख ९०० बराबरका रिचार्ज कार्डसमेत बरामद गरेको थियो।

यस्तै आयोगले जिल्ला खेलकूद विकास समिति मुगुका तत्कालीन अध्यक्ष लालबहादुर रावत र कोषाध्यक्ष हस्तबहादुर शाहीसमेत चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

जिल्ला खेलकूद विकास समितिका तत्कालीन अध्यक्ष रावत र कोषाध्यक्ष शाहीले रु एक लाख २० हजार बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ।

खेलमैदान निर्माणमा विनियोजित रकम समितिको बैंक खाताबाट निकासा गरी विद्यालयमा सम्पूर्ण रकम उपलब्ध नगराई हिसाब मिलान गरेर मास्ने नियत राखेको पाइएको आयोगले जनाएको छ।

आयोगले लेखापरीक्षक बालकृष्ण खरेल र मतियारको भूमिका निर्वाह गर्ने वीरेन्द्रजङ्ग राना क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *