हुलाक सेवालाई विश्वसनीय र द्रूत बनाउन सके राजस्व बढ्छः मन्त्री गुरुङ

डिसी नेपाल
११ असार २०८२ १७:४७
24
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई विश्वसनीय, भरपर्दो र द्रूत बनाउन सके राजस्व बढाउन सकिने धारणा व्यक्त गरेका छन्।

हुलाक सेवा विभागले आज यहाँ आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षासम्बन्धी अन्तरक्रियामा मन्त्री गुरुङले आधुनिक र स्मार्ट हुलाक बनाउन नयाँ ऐनको आवश्यकता औंल्याए। ‘हुलाकलाई आधुनिक बनाउन मन्त्रालयले सक्रियताका साथ काम गरिरहेको छ, आधुनिक हुलाक निर्माणका लागि नीति निर्माण अन्तिम चरणमा छ’, उनले भने।

उनले कर्मचारीको क्षमता वृद्धिमा पनि सुझाव दिए। ‘हामी यसै वर्ष हुलाक ऐन ल्याउछौं, स्थानीय हुलाक संरचनालाई अझै प्रभावकारी बनाउने योजनाका साथ काम भइरहेको छ, यसका लागि कर्मचारीहरुको भरपुर सहयोग र साथ चाहिन्छ’, उनले भने।

मन्त्री गुरुङले यस वर्षभित्र स्थानीय तहका हुलाक कार्यालयमा कम्तीमा एउटा मोटरबाइक उपलब्ध गराउने समेत उल्लेख गरे। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट हुलाका लागि पर्याप्त बजेट विनियोजन नभए पनि आवश्यकताका आधारमा बजेट थप गर्न र अन्य स्रोत जुटाउन आफूले सक्दो प्रयास गरेको उनको भनाइ थियो।

कार्यक्रममा मन्त्रालयका सह–सचिव कोशहरि निरौलाले मन्त्रालय हुलाक सेवाको वृद्धि र विकासका लागि सधै सकारात्मक रहेको बताउदै हुलाकलाई इकर्मशमा जोड्ने प्रयत्न रहेको बताए। हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवालाई जनताको घरदैलोसम्म पुर्‍याउन स्थानीय तहसँग सहकार्य गर्दै आएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *