कविता : मायाको खेल
माया प्रेमको पन्छी मिल्न खोज्छ सधैंभरी
आत्मा तनको भित्र बस्छ हाँसी मरी मरी
माया सबको प्रेम जताततै सुगन्ध छ
यही माया नहुँदामा जीवननै उजाड छ।
माया सबको प्रिय बालक युवा बुढा सबै
यसैमा सबको जीवन अडेको छ खुबैखुबै
हीराको मोल के मोल माया मोल अनुपम
यसको पोशणमा हुन्छ सबैको जीवन उत्तम।
माया बिनाको जीवन त्यो सबै निरस छ
यही नै आत्माको खेल हो उ सधैं जित्दछ
हारेमा यो निहुरी बस्छ मन भरंग हुनेगरी
पन्छी झैँ उडीजान्छ माथि आकास छुनेगरी।
खेल मायाको हेर्न मायाको जालो बुनी हेर
यसैको भुमरीमा घुमिरहन्छन् सबै नर
रमाइलो यसैमा छ सुख आनन्दको पनि
यही नै जीवनको साथी प्रेमको संगिनीपनि।
कसैको माया उडेर जान्छ बस्न पाउँदैन कतैपनि
नडाली भेट्टाउँछ कहीँ आउँछ गजबको आँधीपनि
हुरीको चरा जस्तै हुत्तिँदै जान्छ हावाको लहरमा
माया मिलन छुट्छ सुगासुककोजस्तै अमरकथामा।
मायाको मिलनमा हेर हुन्छ जताततै हराभरा
मायाको बिछोडमा हेर छाती हुन्छ चिराचिरा
नवीणानै बज्न सक्छ नफुट्छ गीतको बोलिनै
बिछोड मायाको जालो न थाप्न सक्छ गोलीनै।
माया भन्नु केही छैन फोका उठ्दै फुटेसरी
यो नभइ फेरि चल्दैन सारा कर्म टुटेसरी
यो मानिसको चोलामा मायामोह अतृप्त छ
रोकिन्न यसको चाल जन्म मृत्यु अपार छ।
हिसाब यो मायाको छैन कुनै यो संसारमा
किताब यसको कुनै छैन हुन्न यो विधानमा
बिबेक बस एउटा छ माया सबै खेलाउने
अपार प्रेमको ग्रन्थ यसै भित्र छ देखने।
देखाउने सबै माया गहीरो हुन्न केही गरी
बोलिने प्रेमको बोली सच्चा हुन्नन् कसैगरी
माया शब्द अति राम्रो शब्द प्रेमको पनि उही
यो जालो नबुझेमा यसले ल्याउँछ झन् क्षति।
हाम्रो टाउको
यो टाउको हाम्रो हेर्दा फर्सी जस्तो छ
बाहिर कडा कडा भित्र गिलो छ
बाहिर हाडले मोरी ओखर गुदी जस्तो छ
दायाँबायाँ दुवैभित्र ब्रम्माण्डको गुह्य छ।
सृष्टि इैश्वरको हेर यो कति अचम्म छ
सबै सम्झना यहीमा छ हिजो आजको कर्म छ
सारा संसारको कर्म यसमा नै अटाउँछ
सम्झना मनको प्यासी यसले नै बुझाउँछ।
हेर्ने आँखा कान सुन्ने दुईवटा छन् दुबैतिर
बीचमा नाकको दुई प्वाल ओठ र मुख
एउटा लट्ठीको लाठी जस्तोले अडेको छ
गला हो त्यसको नाम कसरी यो ठडेको छ।
हेर टाउकाको मूल्य त्यो कति अनमोल छ
अरु सबै यसो हेर्दा गाई भैंसीको नै रुप छ
यसैले बनाएको छ हामीलाई एक मानिस
चैतन्य ज्योति मालिक सृष्टि नै साजिस छ।
बुद्धि यसैमा भरिएको छ कुण्ड कुण्ड गरिकन
मुर्खता यसमा नै छ दुस्ट चेतना भरीकन
कोही बुद्धिमान बनी गर्छन् बुद्धि सब कर्मको
ज्ञानी, बिबेकी दयावान पुज्छन् आफ्नो स्वधर्मको।
चेतना सब हो शिर सारा यसले गराउँछ
स्वर्ग नर्कमा पुग्ने बाटो यसले नै देखाउँछ
दया करुणा मायाको बाटो यसले देखाउँछ
यो हाम्रो सानो टाउको भित्र सबैनै अटाउँछ।
चोरी डकैती दुस्कर्म सारा यस भित्रनै छ
षड्यन्त्र र खुरापाती यसै भित्र गनाउँछ
राम्रो कर्म गरे राम्रो फल यसले फलाउँछ
नराम्रो कर्म गर्नेलाई अन्त्य नरकमा पुर्याउँछ।
राजाहोस् या रैती होस् छोड्दैन कहीँ पनि
कर्मको पछि लागेर हिँड्छ यो जहाँपनि
सुकर्म गरे यसले बुद्धिमा मल हाल्दछ
कुकर्र्म गरे यसले बुद्धिमा बिष छर्दछ।
बुद्ध बने बुद्धिले, इशा पेगम्बर बने
गुरुनानक बने यसले प्रेमको कर्मकाण्डले
बने लाओत्से महाज्ञानी, शिर एक भएपनि
बने साइ महामानव कालो वर्ण रहेपनि।
बने ओशो भगवान झैं भारत बासी भएपनि
बने येसु महामानव सेतो वर्ण रहेपनि
बुद्धिको खेल हो कर्म हो मतिको गति
झुठो कर्म गर्नेलाई दिन्छ दण्ड र क्षति।
आज नेताहरुको कर्म त्यो हेर बुद्धि कहिले पलाउने
नेपाली जनतालाई भित्र भित्रै सडाउने
हेर टाउको नेताको बुद्धि कहिले पलाउने
नेपाली जनताको टाउकोमा मकै भटमास भुटने।
ओहो त्योपनि टाउका हुन् सधैं झगडा गरिरने
छैन केही इमान्दारी निद्रामापनि बर्बराउने
हा! टाउको कठै टाउको यो टाउको कसरी भयो
यस्तै टाउको बोकेमा बिश्व कसरी ठूलो भयो।
सानो टाउको ठूलो बुद्धि गर्छ यसले ठूलो काम
ठूलो टाउको सानो बुद्धि बिष छर्दछ चारै धाम
सद्बुद्धि सबमा आओस् यो खुल्ला सधैं रहोस्
त्यो बुद्धिले प्राज्ञमा छोइ मन उँचा सधैं रहोस्
टाउकोको शान, मान यसले बढाउँछ सधैं सधैं
दुष्कर्म गर्नेको यो टाउको निहुरिन्छ सधैंसधैं।
माया र मोह
माया मोहको के अर्थ जसले दिल जलाउँछ
नदुखेको कपाल यसले दिनदिनै दुखाउँछ
चादनी त्यो रातमा कति भेट भए थ्यो
नजाने त्यो क्षण कति माया बसे थ्यो।
अहो! मोहको माया कतिखेर भयो त्यो
जुनेली रातमै त्यो माया परेथ्यो
कति आँसु बहाएँ कति दुःख पाएँ
त्यो मोहबाट किन फेरि टाढा भएँ।
गरेर मोह मैले त्यो तिमीबाट के पाएँ
लुटेर खुसी त्यो तिम्ले कति दुःख पाएँ
गयो सबै मोह मेरो तिमीबाट आज
एक्लै हुन गएँ अब दूर तिमीबाट रात।
आशा उमंग ती सारा अब कता हरायो
यो मोह र मायाले अब झन् सतायो
माया मोहको भेट सधै हुन्छ दिनदिनै
यस्तै भेट हुने होला भोलिपर्सि कुनैदिन।
कति रोए कति हाँसे यो माया मोहमा परी
सम्झना मात्र रहन गयो ती बितेका घडी
सम्झेर आउँछ्यौ कि भनी म कुरेर बसिरहेछु
छर्लंग रात नहोस् म भनी टोलाई रहेछु।
निद्रा छैन ममा अहिले भोक प्यासपनि कुनै
सिर्फ भेटको मोह छ यो जुनेली रातको दिनै
न जलाउ मलाई यस्तो नसताउ र नदुखाउ
दुखेसो कति पोखुँ म अनुहार अब त्यो खुलाउ।
















Facebook Comment