पीडितमैत्री नियमावली बनाइने

डिसी नेपाल
१२ असार २०८२ १८:०१
44
Shares

काठमाडौं। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौलाले द्वन्द्व पीडितको आत्मसम्मान, सुरक्षा, सांस्कृतिक र सामाजिक पहिचानको रक्षा गर्दै नियमावली तयार गरिने बताएकी छन्।

आयोगमा आज आयोजित नागरिक अधिकारकर्मीसँगको छलफलमा अध्यक्ष गड्तौलाले पीडितलाई केन्द्रमा राखेर आयोगले कामकारबाही अघि बढाउने बताइन्। ऐनअनुसारको नियमावली तर्जुमा भइरहेको र नियमावलीलाई पीडितमैत्री बनाइने उनले प्रतिबद्धता व्यक्त गरिन्।

‘पीडितलाई जतिसक्दा चाँडो न्याय दिनुपर्ने अवस्था छ, पीडितलाई मलमपट्टी लगाउन सरोकारवालाले पनि सहयोग गर्नुपर्छ’, अध्यक्ष गड्तौलाले भनिन्। उनले द्वन्द्व पीडित नागरिकलाई न्याय नपाउने अवस्था आउनै नदिइने दृढता व्यक्त गरिन्।

छलफलमा नागरिक अधिकारकर्मीले पीडितको आवाजलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिँदै बेपत्ताका परिवारजनलाई जतिसक्दो चाँडो न्याय दिने गरी काम गर्न सुझाव दिए। उनीहरुले आयोगको काम परिणामुखी हुनुपर्ने र राहत तथा परिपूरणमा ध्यान दिनुपर्ने बताए।

आयोगले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन (तेस्रो संशोधन), २०७१ अनुरुपको नियमावलीको मस्यौदा तयार गरिरहेको छ। आयोगले यसअघि पनि नियमावलीलाई निष्कर्षमा पुर्‍याउन सरोकारवालासँग विभिन्न चरणमा छलफल गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *