भिजिट भिसा प्रकरणलाई सामसुम पार्न खोजियो : कमल थापा
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी काण्डमा संलग्नहरूलाई जोगाउन खोजिए झै भिजिट भिसा प्रकरणलाई सामसुम पार्न खोजिएको आरोप लगाएका छन्।
पार्टीको भातृ संगठन राष्ट्रिय किसान संगठन नेपालद्वारा आज असार १५ धान दिवसमा आयोजित कार्यक्रममा बोल्दै थापाले यस्ता भ्रष्टाचारका काण्डको छानविन र दोषीलाई कानुनको कठघरामा उभ्याउने कार्यलाई जनताले बाध्य तुल्याउने स्पष्ट पारे।
नेपाललाई कृषि प्रधान देश भनिए पनि धान रोप्ने आधा समय वितिसक्दा समेत किसानले पर्याप्त रासायनिक मल नपाउनु विडम्बनापूर्ण भएको बताए। किसान, मजदुर, युवाको पक्षमा सरकारले कुनै आशालाग्दो काम गर्न नसकेको तर भ्रष्टाचार र ब्रम्हलुटमा सरकार लिप्त भएको थापाको आरोप छ।
जनताको सशक्त दबाबमा गिरिबन्धु टी स्टेट जग्गा काण्ड, वाइडबडी जहाज काण्ड, ओम्नि र यति काण्ड, माओवादी नक्कली लडाकु घोटाला लगायतका सबै भ्रष्टाचारका फाइलहरू खोलिने र दोषीले उन्मुक्ति नपाउने समेत उनले दाबी गरे।
२०८४ को निर्वाचनमा जनताले कांग्रेस, एमाले र माओवादीलाई कुनै पनि हालतमा मत नदिने मनस्थिति बनाइसकेको भन्दै थापाले जनता विकल्पको खोजीमा रहेको बताए।
राप्रपा नेपालले आफ्नो एजेन्डाका बारेमा जनतालाई राम्रोसँग बोध गराई विकल्पका रुपमा प्रस्तुत गर्न सक्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्षहरू डाक्टर बिष्णु भण्डारी , तेजकुमार कुरुङ्वाङ, महामन्त्री इन्द्र चित्रकार , किसान संगठनका अध्यक्ष डम्बर प्रसाद शिवाकोटी, ज्ञानेश्वर उपाध्यायलगायतले आफ्नो धारणा राखेका थिए।







डिसी नेपाल








Facebook Comment