म कुनै पनि किसिमले गलत रहेको छु भन्ने आधार र प्रमाण छैन : माधव नेपाल
oppo_1026
जनकपुर। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफूले कुनै किसिमको गलत गरेको आधार र प्रमाण नरहेको दाबी गरेका छन्।
जनकपुरधाममा मंगलबार नेकपा एकीकृत समाजवादी धनुषाको सातौँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले पतञ्जली जग्गा प्रकरण बारेमा कही कतै र कुनै पनि किसिमले संलग्न नरहेकाले आफू जहिले पनि नबिराउनु र नडराउनु भन्ने पक्षमा रहेर काम गर्ने व्यक्ति भएकाले सत्यको विजय हुने विषयमा आफू पूर्व विश्वस्त रहेको बताए।
अध्यक्ष नेपालले भने, ‘मैले गल्ती गरेको छु भने मेरो शिर निहुरिने छ, देश र जनताको सेवा र समाजमा रहेको विकृति विसंगति राजनीतिमा रहेको विकृति विसंगतिको अन्त्यका लागि अब सधैँ लागि रहने र मलाई अदालतमाथि विश्वास छ।’
अदालत न्यायको पक्षमा खडा हुने भन्दै उनले प्रत्येक वकिललाई धन्यवाद दिए। अध्यक्ष नेपालले भने, ‘अदालत न्यायको पक्षमा खडा हुन्छ, मलाई साथ र सहयोग गर्नु हुने सबै अधिवक्तालाई म धन्यवाद दिन चाहन्छु। हरेक पार्टीका अधिवक्ताले आफूलाई साथ र सहयोग गरेको छ।’
अध्यक्ष नेपालले भने, ‘मेरो बारेमा कुनै पनि किसिमको गलत रहेको छु भनि आधार र प्रमाण छैन, कुनै कानुनी आधार छैन, संवैधानिक आधार पनि छैन। योग गर्ने राम्रो संस्था छ। सामूहिक निर्णय अनुसार योग संस्थालाई जग्गा बिक्री गरिएको हो। एक टुक्रामा पनि कानुन विपरीत कार्य भएको छैन।
जग्गासम्बन्धी सम्पूर्ण कारबाही प्रक्रिया पुर्याएर पतञ्जली संस्था आफैले काम गरेको छ।’ उनले आफूलाई विना आधार र विना प्रमाण तथा संवैधानिक आधार विना नै आफूमाथि लाञ्छना लगाइएको दाबी गरे।
पतञ्जली संस्थाले देशमा दर्जनभन्दा बढी अस्पताल खोलेर सेवामूलक काम गरिरहेकाले सो संस्थाको नाममा कहिकतैले कसैले गलत कार्य नगरेको दाबी अध्यक्ष नेपालले गरे।
अध्यक्ष नेपालले राजनीतिमा प्रतिक्रियावादी एवं पुँजीवादी चिन्तनका कारणले सिंगो कम्युनिष्ट पार्टी नै बदनाम भएकाले यसलाई चिर्नका लागि पनि जनताको पक्षमा काम गर्न आग्रह गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment