परिष्कृत रोजगार रणनीति तयार गर्न स्थानीय तहलाई सहयोग गर्छौं : श्रममन्त्री

डिसी नेपाल
१८ असार २०८२ १४:१८
16
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नयाँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्ने प्रतिद्धवता जनाएका छन्।

बुधबार राष्ट्रियसभा बैठकमा आफ्ना मन्त्रालयमाथिको विनियोजन विधेयकका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले स्थानीय तथा प्रदेशको सम्भावनाको पहिचान नयाँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्।

उनले आगामी आर्थिक वर्ष देखि रोजगारदातालाई दक्ष श्रमिकको उपलव्धताका लागि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानलाई थप प्रभावकारी तवरले अघि बढाउने बताए।

त्यस्तै उनले वैदेशिक रोजगार बोर्डलाई थप सशक्त र प्रभावकारी बनाउन मन्त्रालयले बोर्ड सुधारको प्रतिवेदन प्राप्त गरिसकेको जानकारी दिँदै त्यसका अधारमा प्रभावकारी कार्ययोजना निर्माण गर्ने धारणा राखे।

मन्त्री भण्डारीले वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक खोज्ने राष्ट्रिय नीति बमोजिम नयाँ १३ वटा युरोपियन गन्त्व्यहरुसंग श्रम समझदारी गर्न सरकारले प्रस्ताव गरेको उल्लेख गरे।

उनले वैदेशिक रोजगारीबाट फर्केका नेपालीको ज्ञान, पूँजि र सीपको उच्चतम उपयोग गरी मुलुकको उत्पादन र उत्पादकत्व अभिबृद्धी गर्ने कार्य अघि बढेको समेत बताए।

मन्त्री भण्डारीले प्रत्येक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षामा आवद्ध गर्ने योजना अघि सारेको बताए।

पालिकालाई बालश्रम मुक्त घोषणालाई प्राथमिकतामा राखेको भन्दै उनले यो अभियानलाई व्यापक बनाइने र श्रमिकको कार्यस्थललाई उचित स्वास्थ्य र सुरक्षायुक्त बनाइने जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *