उज्वेकिस्तानसँग जितका लागि प्रधानमन्त्रीको शुभकामना
काठमाडौं। श्रीलंकाली टोलीलाई जितेर उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धा गर्न तयार नेपाली महिला फुटबल टोली आज प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश लिँदै थियो।
स्पेनको औपचारिक भ्रमणबाट स्वदेश फर्किएलगत्तै नियमित काममा व्यस्त रहेका प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री निवास, बालुवाटारबाट ‘भर्चुअल’ माध्यमबाट सफलताको शुभकामना दिइरहँदा खेलाडीहरु उज्वेकिस्तानबाट जोडिएका थिए।
जितका लागि शुभकामना दिइसकेपछि प्रधानमन्त्री ओलीले खेलाडीको ध्यानाकर्षण गराउँदै हात हल्लाएर ‘हेल्लो! साम्बा एन्ड टिम विस यु अल द बेस्ट…’ भनेपछि उताबाट टिमका कप्तान सावित्रा भण्डारी ‘साम्बा’ उठेर नमस्कार गर्दै हात हल्लाउन थालिन्। अरू खेलाडीले ताली बजाएर जितको शुभकामना ग्रहण गर्दै शुभकमनाप्रति आभार व्यक्त गरेका थिए।
भर्चुअल रुपमा नेपालबाट जोडिएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई पनि प्रधानमन्त्रीको हौसलाबाट उत्साहित भर्।
प्रतिस्पर्धी श्रीलंकालाई हराएर उत्कृष्ट प्रदर्शन गरेकामा हर्षित प्रधानमन्त्री ओलीले आज उज्वेकिस्तानसँग हुने फाइनल खेलमा नेपालले जित्ने विश्वास व्यक्त गरे।
“देशको गौरव बढाउन तपाईंहरुले गरिरहनुभएको योगदानको म प्रशंसा गर्दछु। नेपाली महिला फुटबलको ४० वर्षे संघर्षपूर्ण इतिहासमा अर्काे स्वर्णिम नतिजा प्राप्त हुनेछ। तपाईंहरुमा जितको मनोबल देखिएको छ। तपाईंहरुले जित्नैपर्छ। हामी जित्नेछौं। यसलाई हामीले टर्निङ पोइन्टका रुपमा लिनेछौं।” खेलाडीलाई उत्साहित पार्दै प्रधानमन्त्री ओलीले भने, “म तपाईंहरुको खेलसँगै हुनेछु। खेल क्षेत्रको विकासका लागि सरकारका तर्फबाट गरिनुपर्ने काम हुनेछ।”
हालै सम्पन्न आफ्नो स्पेन भ्रमणका बेला रियल म्याड्रिडको रंगशालाको अवलोकन गरेको र मुलुकमा पनि त्यस्तै रंगशाला निर्माण कसरी सकिन्छ भन्ने सोचिरहेको जनाउँदै प्रधानमन्त्री ओलीले कम स्रोत, साधनबीच देशको खेलक्षेत्र सुदृढ हुँदै गएको बताए। उनले खेल क्षेत्र खर्च हुने क्षेत्रका रुपमा नभई आम्दानी गराउने क्षेत्रका रुपमा पनि लिइनुपर्नेमा जोड दिए।
एन्फाका अध्यक्ष नेम्वाङले जितको शुभकामनाका लागि प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै सरकारले गर्ने पूर्वाधार विकासको प्रयासमा आफूहरुको साथ रहने विश्वास दिलाए।
उनले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणमा रियल म्याड्रिडको रंगशाला अवलोकनमा पर्नु नेपाली खेल क्षेत्रको विकासप्रति प्रधानमन्त्रीको प्रतिविम्बित भएको र त्यसबाट आफूहरुलाई प्रोत्सहन मिलेको बताए।







डिसी नेपाल








Facebook Comment