मदन भण्डारीको जन्मजयन्ति मनाउन समिति गठन
काठमाडौं। मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाउनका लागि डोरमणि पौडेलको संयोजकत्वमा ७५ सदस्यीय मुल व्यवस्थापन समिति गठन गरिएको छ।
मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) का विषयबारे टोलटोलसम्म जानकारी गराउनका लागि जन्मजयन्ती मनाउने निर्णय गरिएको जानकारी दिइन्। समितिको सहसंयोजकमा सुशील प्याकुरेल, प्राडा गणेशमान गुरुङ र सचिवमा डा भेषराज अधिकारी रहेका छन्।
पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को विधान महाधिवेशनमा आफ्नो भूमिकाबारे पार्टीको केन्द्रीय कमिटी बैठकले निर्धारण गर्ने बताइन्। आफू एमाले पार्टीको सक्रिय राजनीतिमा क्रियाशील भइसकेकोले विधान महाधिवेशनमा सहभागी हुने विषय केन्द्रीय कमिटी बैठकले तय गर्ने बताएकी हुन्।
‘पार्टीभित्रको कुन संरचनामा के भूमिका हुने भन्ने कुरा पार्टीको माथिल्लो तहको नेतृत्वले तय गर्ने छ। महाधिवेशन नहुँदाको अवस्थामा केन्द्रीय कमिटी नै सर्वोच्च अङ्ग हुन्छ,’ उनले भनिन्, ‘विधान महाधिवेशनमा मेरा उपस्थिति कसरी गराउनहुन्छ भन्ने कुरा केन्द्रीय कमिटीमा नै भरपर्ने कुरा हो। प्रतिनिधिका रूपमा हुन्छ वा आमन्त्रित सदस्यको रुपमा कसरी गराउनुहुन्छ यसमा मेरो कुनै यस्तो यही गर्नुपर्छ भन्ने छैन।’
उनले जबजको बिजारोपण सुदृढीकरण र त्यसलाई सिद्धान्तलाई अगाडि बढाउने कुरा मदन भण्डारीले गरेपनि रहस्यम निधन भएकाले लागू गर्न नपाएको बताइन्। उनले भनिन्, ‘तर, पनि पार्टी अगाडि बढ्यो, पार्टीले आफ्नो सिद्धान्तअनुसार अगाडि बढदै जादा यो ठाउँसम्म आइपुगेको छ।’
भण्डारीको जन्मजयन्ती २०८२ र २०८३ सालभर विचार गोष्ठी, छलफल तथा अन्तरक्रिया, कविता, बादविवाद, हाजिरीजवाफ, खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, पुस्तक प्रर्दशनीलगायतका कार्यक्रम आयोजना गरिनेछ।







डिसी नेपाल








Facebook Comment