श्रावणको रौनक : लगनखेल बजार क्षेत्र भीडभाड, मेहेन्दी लगाउन अफर

डिसी नेपाल
१ साउन २०८२ १२:०३
68
Shares

ललितपुर। श्रावणको सुरुवातसँगै ललितपुरको लगनखेल बजार र टंगल क्षेत्रमा किनमेल गर्ने महिलाहरुको भीड लागेको छ। श्रावणको पहिलो दिनलाई विशेषगरी ‘हरियो महिना’ का रूपमा मनाउने नेपाली परम्परामा महिलाहरू हरियो कपडा, चुरा र हातमा मेहेन्दी लगाएर श्रृंगारमा व्यस्त देखिएका छन्।

श्रावण सुरु हुने अघिल्लो हप्तादेखि नै बजारमा किनमेलको चहलपहल सुरु हुन्छ। विशेषगरी महिलाहरू हरियो कुर्ता, चुरा र मेहेन्दी किन्ने क्रममा देखिन्छन्। यस्तै दृश्य असारको अन्तिम दिन लगनखेल बजारमा पनि देखिएको थियो। टंगलस्थित दुर्गा आर्केटमा श्रावणलक्षित अफरले ग्राहकलाई आकर्षित गरिरहेको छ।

दुर्गा आर्केटमा सञ्चालन भइरहेको विशेष अफर अनुसार, पाँच सय रुपैयाँसम्मको सामान खरिद गर्दा एक हातमा र एक हजारभन्दा माथिको सामान किन्दा दुबै हातमा मेहेन्दी निःशुल्क लगाइने व्यवस्था गरिएको छ। यो अफरले महिलामाझ निकै चर्चा कमाएको छ र व्यापार पनि बढेको देखिन्छ।

पसल बाहिर बसेर ग्राहकलाई बोलाउँदै गरेका सनफ्लो र्यापर यग्यले भने, ‘श्रावण महिनालाई लक्षित गर्दै अफर ल्याएका छौं। ग्राहकलाई बोलाएर सेवा दिन पाउँदा रमाइलो लागिरहेको छ।’ उनका अनुसार पुरुषहरू पनि महिला परिवार सदस्यका लागि किनमेल गर्न आउने गरेका छन्।

दुर्गा आर्केटभित्र चहलपहल बाक्लो छ। कोही मिहेन्दीको पालो कुर्दै छन् भने कोही मेहेन्दी लगाइरहेका छन्। कोही चुरा र कपडा छान्नमै व्यस्त छन्। मेहेन्दी लगाइरहेकि खुशी ठाकुर भन्छिन्, ‘पहिलो वर्षमै अफर राम्रो भयो। अर्को वर्ष अझ विशेष योजना बनाउने सोच छ।’

त्यस्तै, हरियो कुर्ता किनेर मिहेन्दी लगाइरहेकी विपना गिरी भन्छिन्, ‘यो अरु देखासिकी होइन, रहरले लगाइन्छ। साउनको हरियाली निकै मनपर्छ।’ उनी जस्ता धेरै महिला र किशोरीहरू यो अफरमा आकर्षित भएका छन्।

पसलमा काउन्टर हेर्दै गरेकी अन्जु पोखरेलका अनुसार, ‘हाम्रो पसलमा श्रावण सुरु भएदेखि ग्राहकको भीड छ। अफरले गर्दा अझ बढेको छ। मुख्य ग्राहक महिलाहरूको समूह नै हो।’ उनका अनुसार, व्यापार राम्रो भएकाले आगामी वर्ष अझ प्रभावकारी अफर ल्याउने योजना रहेको छ।

श्रावणको श्रृंगार र उल्लास अब शहरमै सीमित छैन। गाउँघरमा पनि महिलाहरूले मेहेन्दी, चुरा र हरियो पोशाक लगाएर यो महिनालाई विशेष बनाइरहेका छन्। हरियालीको प्रतिक श्रावण नेपाली समाजमा साँस्कृतिक जागरण र व्यवसायिक अवसर दुबै ल्याउने गरेको देखिन्छ।

आज साउने संक्रान्तिमा हरियालीमा देखिन रुचाउने महिलाहरुले किनमेल गरेको छ। यसले व्यापारलाई पनि मनग्य आम्दानीमा बदलेको पाउन सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.