प्रचण्डसँग भेटेको भोलिपल्टै शेखर कोइराला विद्या भण्डारी निवासमा, वैकल्पिक गठबन्धनको चर्चा
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला शुक्रबार बिहानै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनकै निवासमा पुगेका छन्। बिहीबार मात्र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका कोइराला शुक्रबार भण्डारी निवास पुगेपछि वैकल्पिक गठबन्धनको चर्चा चल्न थालेको छ।
भेटमा देशको समसामयिक राजनीति, सरकारको काम कारवाही र जनताको असन्तुष्किा बारेमा छलफल भएको काेइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताए। भेटमा दुई नेताबीच सरकारको पछिल्लो एक वर्षको कामको समक्षिा पनि भएको उनले बताए।
सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको भन्दै अहिले कोइराला समूह कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने प्रयास गरिरहेको छ। यस्तोमा माओवादी अध्यक्ष प्रचण्ड र त्यसलगत्तै नेकपा एमालेको नेतृत्वकै दावेदारी गरिरहेकी भण्डारीसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
भण्डारी र कोइराला दुवै आफ्नो पार्टीको मूल नेतृत्वसँग प्रतिस्पर्धा भएका नेताहरु हुन्। कोइराला कांग्रेसको अघिल्लो महाधिवेशनमा पराजित भएका हुन् र पार्टीको आगामी महाधिवेशनमा पनि संस्थापन इतर समूहबाट प्रमुख दावेदार मानिएका छन्।
भण्डारीले भर्खरै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छिन् र आफू पार्टी अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएको बताएकी छिन्। नेकपा एमालेको आगामी महाधिवेशनमा पार्टी अध्यक्ष पदमा लागि केपी ओलीसँग भण्डारी नै प्रतिस्पर्धामा रहने अनुमान गरिएको छ।
सरकारले प्रभावकारी काम गर्न नसकेको भनेर तीब्र आलोचना भइरहँदा पनि कांग्रेस सभापति शेरबहादुर देउवा भने नयाँ गठबन्धनको पक्षमा छैनन्। एमालेसँग गरिएको सहमतिअनुसार अब देउवा प्रधानमन्त्री बन्ने पालो आउन लागेको छ त्यसैले देउवा गठबन्धन जोगाउने पक्षमा छन्। तर, कोइराला भने नयाँ गठबन्धन बनाएर कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने पक्षमा छन्।
एमालेमा अध्यक्षको दावेदारी गरिरहेकी विद्या भण्डारीलाई जसरी पनि रोक्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली प्रयासरत छन्। आफू प्रधानमन्त्री बन्ने पालो आउँदै गर्दा ओलीलाई पार्टीभित्र शक्तिशाली बनाइराख्न देउवाले पनि विद्या भण्डारी राजनीतिमा फर्किन नहुने तर्क गरिरहेका छन्।
यस्तोमा ओली र देउवासँग पार्टीभित्र आन्तरिक रुपमा मुख्य प्रतिस्पर्धामा रहेका दुई नेताहरुबीचको भेटलाई वैकल्पिक गठबन्धनको बीजारोपणको रुपमा हेरिएको छ। यी दुई नेताहरुसँग तेस्रो शक्ति माओवादीका अध्यक्षको पनि निकटताले नयाँ गठबन्धनको संकेत गरेका छन्।







डिसी नेपाल








Facebook Comment