ओली-भण्डारीको भेटवार्ता सकियो

डिसी नेपाल
४ साउन २०८२ १८:०९
268
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ। उनीहरूबीच एमाले मुख्यालय च्यासलमा एक्लाएक्लै भेटवार्ता भएकोमा छलफल भर्खरै सकिएको हो।

उनीहरूबीच करिब २ घण्टा एक्लाएक्लै छलफल भएको थियो। छलफल पछिल्लो समसामयिक विषयमै केन्द्रित रहेरको बताइएको छ। यद्यपि, छलफलको विषय बाहिर आएको छैन।

पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमालेको हालैको सचिलालय र पोलिटब्युरो बैठकमा यस विषयमा छलफल भएको थियो।

एमालेको शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा अधिकांश सदस्यहरूले गरिमामय पदमा रहिसकेको पूर्वराष्ट्रपति पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका थिए।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुने छ।

सोमबारदेखि सुरु हुने पार्टीको केन्द्रीय कमिटीको बैठकमा यसअघि सचिवालय र पोलिटब्यूरो बैठकबाट पारित विधान संशोधन प्रस्ताव पेस भई छलफल हुने नेता गौतमले जानकारी दिए। विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ।

यसैगरी, पार्टीमा स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने प्रस्ताव गरिएको छ। एमालेको केन्द्रीय कमिटी ३५७ सदस्यीय हुने व्यवस्था छ। केन्द्रीय कमिटीको बैठक भोलि र पर्सि बस्ने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.