‘मिसन २०८४’ सफल बनाउन ओलीलाई अध्यक्ष चयन गर्नुपर्छ : राजीव पहारी

डिसी नेपाल
६ साउन २०८२ १३:४०
280
Shares

काठमाडाैं। नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीले ‘मिसन २०८४’ सफल बनाउन केपी शर्मा ओलीलाई आगामी महाधिवेशनमा पुनः सर्वसम्मत रूपमा पार्टी अध्यक्ष चयन गर्नुपर्ने बताएका छन्।

उनले एमालेको प्रमुख लक्ष्य आगामी निर्वाचनमा पार्टीलाई बलियो, निर्णायक र राष्ट्रिय शक्ति बनाउनु रहेको उल्लेख गर्दै त्यसको नेतृत्व ओलीले गर्ने भन्नेबारे पार्टीले पहिल्यै निर्णय गरिसकेको स्मरण गराए।

‘अबको हाम्रो मुख्य उद्देश्य मिसन २०८४ हो, त्यसलाई सफल पार्न एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रूपमा उभ्याउनु आवश्यक छ र यसको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ भन्ने निर्णय पार्टीले गरिसकेको छ’, उनले भने।

एमालेको ११औं महाधिवेशन नजिकिँदै गर्दा नेतृत्व चयनसम्बन्धी बहस सुरु भएको छ। त्यही सन्दर्भमा पहारीले आगामी महाधिवेशनमा ओलीलाई पुनः अध्यक्ष बनाउन सबै नेता-कार्यकर्तालाई आह्वान गरेका हुन्।

‘यो संकल्प पूरा गर्न र सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियानलाई सार्थकता दिन अबको ११ औं महाधिवेशनमा अध्यक्ष ओलीलाई पुनः सर्वसम्मत रूपमा अध्यक्ष बनाऔं’, उनले भने।

पार्टीभित्र ओलीको पुनः अध्यक्षताका लागि समर्थन बढ्दै गएको छ। हालै सम्पन्न सचिवालय र पोलिटब्युरो बैठकमा अधिकांश नेताले ओलीलाई पुन: अध्यक्ष बनाउनु पर्ने प्रस्ताव राखेका छन्। जारी केन्द्रीय कमिटी बैठकमा पनि बहुसङ्ख्यक नेताले ओलीको नेतृत्वमा पार्टी अगाडि बढाउनुपर्ने धारणा राखेका छन्।

एमालेले ‘मिसन २०८४’ का रूपमा आगामी संघीय निर्वाचनमा बहुमतसहितको सरकार बनाउने रणनीति अघि सारेको छ। त्यसका लागि सांगठनिक एकता, अनुशासन, र स्पष्ट नेतृत्व आवश्यक रहेको भन्दै पहारीले अध्यक्ष ओलीकै नेतृत्वलाई विकल्परहित भएकाे बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.