सीमा व्यवस्थापन तथा सहकार्यका नाममा भइरहेको ‘सन्धि र समझदारी’माथि एमालेको आपत्ति

डिसी नेपाल
७ साउन २०८२ १०:४६
32
Shares

काठमाडौं । नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको बैठक च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार राति सम्पन्न भएको छ।

बैठकले आत्मसमीक्षा, सांगठनिक सुधार र वैचारिक स्पष्टताको आवश्यकतासँगै जनताबीच दूरी घटाउने कार्यक्रमलाई सशक्त ढंगले अघि बढाउने निष्कर्ष निकालेको छ।

एमालेले पछिल्लो समय भारतसँग गरिएको भू सर्वेक्षण, सीमा व्यवस्थापन तथा सहकार्यका नाममा भइरहेको ‘सन्धि र समझदारी’ माथि गम्भीर आपत्ति जनाउँदै नेपाली राष्ट्रियताको पक्षमा प्रष्ट अडान लिएको छ। पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको स्पष्ट गर्दै पनि राष्ट्रहित विपरीत हुने कुनै पनि निर्णय मान्य नहुने बताएको छ।

एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले आठ वटा विषयगत प्रस्ताव पारित गरेको बताए। जसमा वैदेशिक सम्बन्ध, आर्थिक नीति, सामाजिक न्याय, महिला सशक्तीकरण, युवा समावेशीकरण, सांगठनिक विस्तार, भ्रष्टाचारविरुद्धको अभियान र नेतृत्व अभ्यासमा सुधारका खाका तय गरिएको उनले जानकारी दिए।

गौतमले विज्ञप्तिमा भनेका छन्, ‘भ्रष्टाचार र अनियमितताप्रति निःशर्त विरोध एवं सुशासन र विधिको शासनप्रति अविचलित निष्ठा नेकपा (एमाले) को आधारभूत मान्यता रहँदै आएको छ। यसै मान्यतामा उभिएर भ्रष्टाचार विरुद्धका कानुनहरू निर्माण गर्न, नियमनकारी निकायहरूलाई प्रभावकारी बनाउन र समाजमा सुशासनका पक्षमा जनचेतना अभिवृद्धि गर्न पार्टी निरन्तर क्रियाशील रहदै आएको तथ्य सर्वविदितै छ।’

बैठकले वर्तमान सत्ता सहकार्यलाई अझ सुदृढ गर्दै सात बुँदे सहमति कार्यान्वयनमा दृढता दोहोरÞ्याउने र सरकारलाई अझ प्रभावकारी एवं गतिका साथ अगाडि बढाउन आह्वान गर्ने निष्कर्ष निकालेको छ।

मनसुनको मध्यअवस्थामा मधेस प्रदेश लगायत कतिपय भूभागमा पर्याप्त वर्षा नभएर सुख्खा बढ्दै गएको, धान रोपाई गम्भीर रुपले प्रभावित भएको र पिउने पानीको समेत हाहाकार पर्दै गएको अवस्थाप्रति नेकपा (एमाले) गहिरो चिन्ता व्यक्त गरेको छ।

बैठकले सरकारको ध्यानाकर्षण गर्दै जलवायु अनुकूलका कार्यक्रमहरुको विस्तार र चुरेको संरक्षण एवं पुनर्भरणका विशेष कार्यक्रमहरू तत्काल कार्यान्वयन गर्दै तराई मधेसको दीर्घकालीन समस्या समाधान गर्न माग समेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.