कांग्रेस र कम्युनिष्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुुलुकका प्रत्येक अप्ठ्यारो मोडमा नेपाली कांग्रेस र कम्युुनिष्ट पार्टीले नेतृत्व गरेको अलग अलग राजनीतिक धारको एकता र सहकार्यको प्रयोगबाट सफलता हासिल हुँदै आएको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो सहकार्यको प्रयोगबाट मुलुकमा राजनीतिक स्थायित्वसहित परिवर्तन सम्भव भई उपलब्धि संस्थागत हुने धारणा व्यक्त गरे।
बिपी कोइराला र पुष्पलाल श्रेष्ठको सोचअनुसार उनीहरूले अँगालेको बाटोमा अघि बढी विभिन्न कालखण्डमा देखिएका असहज राजनीतिक घटनाक्रमलाई सहज दिशामा अघि बढाउन कांग्रेस र कम्युनिष्ट धारबीचको सहकार्य सफल भएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीलेले मुलुकको राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका पक्षमा सरकारले सफलता हासिल गरेको बताए।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको बुधबार र पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको मंगलबारको स्मृति दिवसको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नेपालको राजनीतिलाई जहानियाँ राणाशासनको अन्त्य गरी प्रजातान्त्रिक आन्दोलनका पक्षमा नेतृत्व गरेका उनीहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरे।
सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनेक्रममा उनले बिपी र पुष्पलालालाई स्मरण गर्दै ‘मतभेद र मनभेदको होइन, एकता र मेलमिलाप’को कुरा गर्न अनुरोध गरे।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘मुलुकको समृद्धि र जनताको सुखका लागि जीवनपर्यन्त संघर्ष गर्ने पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले आफ्नो प्रिय मुलुकमा प्राण त्याग्ने अवसर समेत दिएन। उहाँले देख्नुभएको तानशाही विरुद्धको संयुक्त जनआन्दोलनको व्यावहारिक प्रयोग नेपाली कांग्रेस र तत्कालीन संयुक्त वाममोर्चामार्फत २०४६ सालमा भयो। बहुदलीय व्यवस्थाको स्थापना भयो । २०१७ सालको ‘कू’ पछि पुष्पलालले माग गर्नुभए झैँ हाम्रो संयुक्त आन्दोलनले विघटित संसद्को पुनःस्थापना ०६३ सालमा भयो, जसले हाम्रो राजनीतिक प्रणालीमा गुणात्मक परिवर्तन गरिदियो। अढाई शताब्दी लामो शाहवंशीय राजतन्त्रलाई निलम्बन गरी जननिर्वाचित प्रधानमन्त्रीलाई राष्ट्रप्रमुख र सरकार प्रमुखको अधिकार प्रयोग गर्ने परिस्थिति निर्माण गर्यो।’
उनले भने, ‘हण्डर ठक्कर खाएपछि मात्र कार्यगत एकता गर्ने हाम्रो आनिबानीअनुरुप बिथोलिएको राजनीतिलाई २०७२ सालमा लयमा फर्काइयो। आज कांग्रेस–एमालेको योजनामा, अन्य दलहरुको समेत सहभागितामा निर्मित मेरो नेतृत्वको यो सरकार त्यही एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छ।’







डिसी नेपाल








Facebook Comment