आर्थिक कूटनीतिलाई प्रवर्द्धन गर्न अवैतनिक महावाणिज्य दूतको भूमिका महत्त्वपूर्ण: परराष्ट्रमन्त्री डा राणा
काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई थप चलायनमान र उपलब्धिमूलक बनाउने अभियानमा अवैतनिक महावाणिज्य दूतहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
विश्वका ६६ देशका तर्फबाट अवैतनिक महावाणिज्य दूतका रुपमा भूमिका निर्वाह गरिरहेका नेपाली व्यवसायीहरू सम्मिलित संस्थाको १८औँ साधारणसभा तथा स्थापना दिवसका उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले आर्थिक कूटनीतिका माध्यमबाट मुलुकलाई लाभान्वित गर्ने पक्षमा रहेको सरकारलाई सहयोग गर्न अवैतनिक महावाणिज्य दूतहरूसँग अनुरोध गरे।
विश्ववातावरण दिवसको अवसर पारी ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना गरेर विश्वको ध्यानाकर्षण गर्न सरकार सफल भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री डा राणाले परिवर्तित विश्वपरिवेशमा हाम्रा नयाँ पुस्तालाई सकारात्मक सोंचका साथ स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देशमूलक कार्यक्रम सञ्चालन गरी व्यस्त बनाउनुपर्ने अवस्था सिर्जना भएकाले रचनात्मक कार्यक्रम उजागर गरिदिनुहुन विद्वत्वर्गसँग अनुरोध गरे।
नेपालस्थित अवैतनिक महावाणिज्य दूत सम्मिलित संस्थाका ‘डिन’ एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यापार तथा वाणिज्य, शिक्षा, संस्कृति, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा सरकारसँग सहकार्य गरी आर्थिक कूटनीतिको प्रवर्द्धनमा सहयोग गरिरहेको जानकारी दिए।
इण्डानेसियाका तर्फबाट नेपालको अवैतनिक महावाणिज्य दूतका रुपमा प्रतिनिधित्व गर्दै आएका महासंघका अध्यक्ष ढकालले कुनै पनि देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गर्दै अवैतनिक महावाणिज्य दूत एवं उद्योगी व्यवसायीको हैसियतले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
मुख्य वक्ता पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले मुलुकमा वैदेशिक सहयोग भित्र्याउन, जनस्तरसम्मको द्विपक्षीय सम्बन्ध विस्तार गर्न, व्यापार व्यवसाय विस्तार गरी स्वदेशलाई लाभान्वित तुल्याउन र समग्रमा कूटनीतिक सम्बन्ध विस्तार गरी नेपाललाई विश्वमाझ चिनाउन अवैतनिक महावाणिज्य दूतहरूको विशेष भूमिका हुने धारणा व्यक्त गरे।
सोही समारोहमा डिनको जिम्मेवारी प्राप्त गर्ने नेपालका लागि बुल्गेरियका अवैतनिक महावाणिज्य दूत भोलाविक्रम थापाले सरकारसँगको सहयोग र सहकार्यमा नेपालको आर्थिक कूटनीतिलाई थप गतिशील, प्रभावकारी र परिणाममुखी बनाउने पक्षमा आफूहरु रहेको स्पष्ट गरे।
द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भए पनि नेपालमा दूतावास नभएका विश्वका ६६ देशले व्यावसायिक क्षेत्रमा सफल एवं स्थापित नेपाली नागरिकलाई अवैतनिक महावाणिज्य दूतका रुपमा नियुक्त गरी विशेषगरी आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै आएको डिन थापाले जानकारी दिए।







डिसी नेपाल








Facebook Comment