घुस मागेको अडियो पुष्टि गर्ने बलियो आधार भेटियो, आरोपी पूर्वमन्त्रीहरू लगातार अख्तियार धाउँदै

डिसी नेपाल
११ साउन २०८२ १०:३१
720
Shares

काठमाडौं। निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्व भूमिसुधारमन्त्री रन्जिता श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चरणबद्ध रुपमा बयान लिइरहेको छ।

घुस अडियोको विषयमा गत साताबाटै उनीहरुसँग चरणबद्ध रुपमा बयान लिइरहेको हो। ‘उहाँहरुको बयान शुरु भैसकेको छ, अख्तियारले छानवीन शुरु गरेपछि बयान लिएर अनुसन्धान थालिएको हो’, स्रोतले भन्यो।

बहालवाला मन्त्री र पूर्वमन्त्री मिलेर कर्मचारी सरुवा तथा जग्गा दर्तालगायतका विभिन्न काम गरिदिएको अडियो सार्वजनिक भएपछि सेवाग्राहीसँग धमाधम घुस असुलेको करिबकरिब पुष्टि भएको अवस्थामा अख्तियारले उनीहरुसँग बयान लिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनका क्रममा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र पूर्व भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले एकपछि अर्को गर्दै घुस असुलेको प्रमाणहरू फेला परेको जनाएको छ। उनीहरूले विभिन्न समयमा गरी करोडभन्दा बढी घुस असुली गरेको स्रोतको दाबी गरिहरेका बेला पुष्टि हुने केही प्रमाणहरु फेला परेको स्रोतको दावी छ।

निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता संलग्न भएको घुस अडियो प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि संलग्न भएको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको थियो।

अख्तियारले मन्त्री गुप्ताको छानबिन गर्ने क्रममा श्रेष्ठ पनि घुस प्रकरणमा संलग्न देखिएका प्रमाणहरू फेला पारेको स्रोतले जानकारी दिएको छ। अख्तियारले घुस प्रकरणमा गत बुधबारदेखि पूर्व भूमिव्यवस्था मन्त्री श्रेष्ठसँग बयान लिनुका साथै भ्वाइस टेस्ट गरेको छ।

यसअघि अख्तियारले मंगलवार यस प्रकरणमा पूर्वमन्त्री गुप्तासँग बयान लिँदै भ्वाइस टेस्ट गरेको थियो। गुप्ताको छानबिनकै क्रममा पूर्वमन्त्री श्रेष्ठले घुस रकम मागेको प्रमाण फेला परेको हो।

यस प्रकरणमा अडियो रेकर्ड गर्ने पोखराका व्यक्तिसँग पूर्वमन्त्री श्रेष्ठले पटक-पटक सम्पर्क गरेको र पैसासमेत मागेको देखिएको अख्तियार स्रोतले जानकारी दिएको छ। श्रेष्ठले मन्त्रिपरिषद् बैठकको सूचना आदानप्रदानदेखि आफ्नो निजी सुरक्षा अधिकृत (पीएसओ) प्रयोग गरेरसमेत पैसा मागेको दावी छ।

तर, पूर्वमन्त्री श्रेष्ठले आफूमाथिको आरोप गलत भएको बताउँदै आएकी छिन्। अख्तियार स्रोतका अनुसार पूर्वमन्त्री श्रेष्ठले पोखराका ती व्यक्तिसँग फोनमा म्यासेज गरेर, ‘…..जी, पशुपति पूजामा छु, क्यास चाहिएको छ। ड्राइभरलाई लिन पठाइदिँऊ?’ भनी म्यासेज लेखेको भेटिएपनि बयानमा भने अस्वीकार गर्दै आएकी छिन्।

अख्तियार स्रोतका अनुसार तत्कालीन सामान्य प्रशासनमन्त्री र गुप्ता, पूर्व भूमिसुधार मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र मन्त्री गुप्तालाई पैसा बुझाउने पोखराका ती व्यक्तिबीच निरन्तर सम्पर्क भएको खुलेको हो।

त्यसमा पनि पूर्वमन्त्री श्रेष्ठले पोखराका ती व्यक्तिसँग निरन्तर फोन र म्यासेज गरेर काम अघि बढाइदिने आश्वासन दिएको भेटियो’अख्तियार स्रोतले भन्यो। मन्त्रिपरिषद्को बैठक बस्दैछ भन्ने सूचनादेखि ‘मलाई मन्त्री गुप्ताले कल गर्दैछ’ भन्नेसम्मको कुराकानी फेला परेको अख्तियार स्रोतले जनाएको छ।

यही विषयलाई लिएर श्रेष्ठको पार्टीमा किचलो समेत उत्पन्न भएको छ। रन्जिताका श्रीमान रेशम चौधरीले पार्टीको बैठकमा स्पष्ट पार्न आग्रह समेत गरिसकेका छन्। अख्तियारले भने अझै केही दिन उनीहरुसँग बयान लिएर थप प्रमाण जुटाउन लागिपरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.