प्रदेश प्रमुख काठमाडौं हिँडेपछि बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण रोकियो

डिसी नेपाल
१५ साउन २०८२ ९:४५
116
Shares

रामेछाप। बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूको आज बिहीबारका लागि तय गरिएको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ।

शपथग्रहण कार्यक्रम आज दिउँसो १ बजेका लागि तय गरिएको थियो। तर प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा स्वास्थ्यमा समस्या देखाए आज बिहानै काठमाडौं हिँडेपछि शपथग्रहण कार्यक्रम रोकिएको हो।

उनी आज बिहानै उपचारका लागि काठमाडौं हिँडेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात् समस्या आएकोले उपचारार्थ आज बिहानै काठमाडौं प्रस्थान गर्नु भएको हुँदा उहाँको निर्देशनअनुसार शपथग्रहण कार्यक्रम अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।’

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने लामाले ५ मन्त्रीहरूलाई हटाएर तीन जना नयाँ मन्त्री नियुक्त गरेका थिए।

पार्टीमा संसदीय दलको नेताको हैसियत गुमाएपछि लामाले गोविन्द लम्साललाई आन्तरिक तथा कानुन, गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण र माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरी हिजै शपथग्रहण गराउन खोजेका थिए। अर्को सत्तारुढ दल नेकपा एमालेका आग्रह पछि हिजोको शपथग्रहण रोकिएको थियो।

हिजो सम्पन्न निर्वाचनबाट कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानिया निर्वाचित भइसकेका छन् । पार्टीले बानियालाई मुख्यमन्त्री बनाउन तयारी गरिरहेको बेला लामाले नयाँ मन्त्रीलाई शपथ गराउन लागेपछि प्रदेश प्रमुख स्वास्थ्य उपचारको लागि भन्दै काठमाडौं हिँडेको हुनसक्ने अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *