झलनाथलाई माधवको कटाक्ष- उहाँ पार्टी नीति विपरित बोल्नु हुन्छ, पार्टीबाट विदा भए हुन्छ

डिसी नेपाल
१६ साउन २०८२ १४:५१
704
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका सम्मानीत नेता झलनाथ खनाललाई पार्टी नीति विपरित बोलेकाले पार्टीबाट विदा हुन सुझाव दिएका छन्।

शुक्रबार विराटनगरमा पार्टीका सम्मानित नेता खनालले एमाले टुक्र्याउनु गलत भएको भन्नुभएछ भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टीबाट विदा लिन सुझाव दिएका हुन्।

उनले सम्मानित नेता खनालले पटक/पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेकोले उनको भनाईको अर्थ नरहेको बताए। एक प्रश्नको जवाफमा नेता नेपालले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान र कानुनले पुनः राजनीतिमा छिर्न रोक नलगाएकोले उनीहरूको व्यक्तिगत निर्णय अनुसार नै हुने धारणा व्यक्त गरे।

अध्यक्ष नेपालले शेर बहादुर देउबा र केपी ओली एक ठाँउमा रहेसम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको बताए। उनले वर्तमान सरकार सबै क्षेत्रमा असफल भए पनि अर्को सरकार बन्ने सम्भावना नरहेको जानकारी दिए।

उनले अहिले आफूहरू पार्टी संगठन सुदृढीकरण र समाजवादी मोर्चालाई सक्रिय बनाउन लागिपरेको बताए। अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकीकरण गर्ने कुरा नभएको र अहिले मोर्चा र सहकार्य गरेरअघि बढ्ने कुरा मात्रै भएको स्पष्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *