नेपाली सेनाले सुरु गर्‍यो खुर्कोट बेलीब्रीजको मर्मत कार्य

डिसी नेपाल
२३ साउन २०८२ १३:०१
48
Shares

रामेछाप । रामेछापका साथै दोलखा, ओखलढुङ्गा र सोलुखुम्बुका केही भागलाई राजधानी काठमाडौंसँग छोटो दूरीमा जोड्ने सडकको खुर्कोटमा जडान गरिएको बेलीब्रीजको मर्मत कार्य नेपाली सेनाले सुरु गरेको छ।

पुलमा लचकपन देखिनु, नटबोल्ट खुकुलो हुनु र पाता हल्लिन थालेपछि बिहीबारदेखि मर्मत कार्य अघि बढाइएको हो।

खड्गदल गण रामेछापको समन्वयमा बर्दिबासस्थित श्री कालीसिद्धी गणबाट खटिएको नेपाली सेनाको इन्जिनियरिङ युनिटले मर्मत मर्मतकार्य भइरहेको छ।

पुलको नियमित अनुगमनका क्रममा देखिएको समस्या समाधान गर्न मर्मत प्रक्रिया थालिएको जनाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए।

थापाका अनुसार बेलीब्रीजमा प्रयोग गरिएका थुप्रै नटबोल्टहरू लुज भएका छन्। लुज भएका नटबोल्ट कस्ने र आवश्यक परे नयाँ फेर्ने काम भइरहेको छ।

सवारी आवागमनमा लामोसय अरोध नहुने गरी पुल मर्मतको काम भइरहेको थापाले बताए। ‘पुलमा कुनै क्षति नभएको भए पनि समय समयमा मर्मत आवश्यक पर्छ सोही अनुसार अहिलेको मर्मत भएको हो, केही घण्टा काम गर्दै आएका सवारी साधनलाई पास गर्दै पठाउने गरी मर्मतको काम भइरहेको छ’, उनले भने।

गत वर्षको असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले पुलको ५१ मिटर भाग बगाएपछि उक्त बेलीब्रीज राखिएको हो। गत कात्तिक ६ गतेदेखि सो बेलिब्रिज सञ्चालनमा ल्याइएको हो। नेपाली सेनाले आपतकालीन अवस्थाको मूल्यांकन गरी छोटो समयमा बेलीब्रीज जडान गरेको थियो।

खुर्कोट पुल रामेछाप र सिन्धुलीको भौगोलिक सीमानामा रहेको महत्वपूर्ण पूर्वाधार हो। जसले पहाडी जिल्लाइ तराइ र राजधानी काठमाडौंसँग जोडेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *