भारतीय एसएसबीद्वारा सुस्तामा प्रवेश गरी अस्थायी बाँध ध्वस्त

डिसी नेपाल
१७ साउन २०८३ १६:४६

बुटवल । पश्चिम नवलपरासीको विवादित सीमा क्षेत्र सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएपछि गम्भीर तनाव सिर्जना भएको छ।

स्थानीयका अनुसार आइतबार दिउँसो साढे ३ बजेतिर १५ जना सादा पोसाकका र हतियारसहितका अन्य ६० जना गरी करिब ७५ जनाको संख्यामा आएका भारतीय एसएसबी टोली नेपाली भूभागमा छिरेका थिए। उनीहरूले सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा स्थानीयद्वारा निर्माण भइरहेको १३२ मिटर लामो माटोको कच्ची बाँध जबर्जस्ती भत्काइदिएका हुन्।

भारतीय सुरक्षाकर्मीको यो एकपक्षीय कदमपछि क्रुद्ध बनेका स्थानीय बासिन्दा प्रतिवादमा उत्रिएका छन्। सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमका अनुसार एसएसबी टोली दुई देशबीच सीमा मानिँदै आएको सिमलको रुखभन्दा करिब ३ सय मिटर नेपालतर्फ प्रवेश गरेर संरचना भत्काएको हो। ‘स्थानीयले रोक्ने प्रयास गरेका थिए, तर हतियारसहित ठूलो संख्यामा आएकाले प्रतिकार सम्भव भएन,’ गौतमले भने।

यसअघि गत असारमा पनि भारतीय सुरक्षाकर्मीले सुस्ता क्षेत्रमा प्रवेश गरी बाँध निर्माण कार्य रोक्न दबाब दिएका थिए, जसका कारण काम बीचैमा रोकिएको थियो।

सुस्ता लामो समयदेखि नेपाल-भारतबीचको मुख्य विवादित सीमा क्षेत्र रहँदै आएको छ। स्थानीय मुन्ना खाँका अनुसार स्पष्ट सीमा स्तम्भको अभाव, नारायणी नदीले लगातार धार परिवर्तन गर्नु र भारतीय पक्षबाट पटक-पटक हुने भू-अतिक्रमण तथा हस्तक्षेपका कारण यहाँ दिनहुँजसो विवाद दोहोरिने गरेको छ।

घटनापछि दुवै पक्षबीच झडप वा अप्रिय स्थिति सिर्जना हुन नदिन र स्थिति नियन्त्रणमा लिन नेपालतर्फबाट सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा खटिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *