तिजले छोप्यो, चुरा-पोतेको व्यापार चम्कियो (फोटोकथा)

डिसी नेपाल
८ भदौ २०८२ ८:०२
84
Shares

काठमाडौं। हिन्दु नारीहरुको महत्वपूर्ण पर्व तिजले छपक्कै छोपेको छ। साडी, चुरा–पोते, गहना र मेहेन्दी पसलहरुमा चहलपहल उसैगरी बढेको छ।

देशभरका बजारमा रहेका साडी, चुरा-पोते, गहना र मेहेन्दी पसलमा भीड बढ्दो छ। व्यापारी व्यस्त भएका छन्।

काठमाडौं उपत्यकाको इन्द्रचोक, असन, न्यूरोड, मंगलबजार, लगनखेललगायतमा तिजको किनमेल गर्नेहरुको भीड बढेको छ।

उसो त बाह्रैकाल व्यस्त रहने यि बजारहरुका साडी, चुरा–पोते, गहना र मेहेन्दी पसलहरुमा महिलाहरुको बढी भीड देखिन्छ।

पसलहरुमा कोही नयाँ पोते उन्न, कोही मेहेन्दी र साडीका ब्रान्ड सजाउन व्यस्त देखिन्छन्। साउन लागेसँगै हरिया, पहेंला, राता रंगका चुरापोते किन्नेहरुको जमात बढेको छ।

तिजका अवसरमा भने चुरा र पोते पसलहरु खचाखच देखिन्छन्। भनिन्छ चुरा-पोते लगाएर जब नारी श्रृंगारिएर ब्रत बस्छिन् उनको मनोकाक्षां पुरा हुने धार्मिक विश्वास पनि छ। त्यतिमात्र नभई अहिले महिलाहरुले साडीसँग चुरा र पोतेको रगं मिलाउन पनि बजारमा खोज्न जाने गरेको देखिन्छ।

बजारमा चुरा-पोते व्यापार व्यवसाय भने फस्टाएको छ। व्यापारीहरु तिज र विवाहको सिजनमा खुशी समेत हुने गरेका छन्।

काठमाडौं इन्द्रचोकमा ४५ वर्षदेखि पोतेको व्यवसाय गर्दै आएका अलिम मुदिमले हाल व्यापार सामान्य नै रहेको बताउँछन्।

चीनबाट आयात हुने चुरापोतेको डिजाइन भने ग्राहकहरुकै सल्लाह अनुसार तयार गर्ने गरेको सुनाउँछन्। ‘टिकटकबाटै डिजाइनहरु आउँछन्। त्यसैबाट ग्राहकको सुझाव अनुसार डिजाइन बनाउछौं। बिहे र तिजको दुबै सिजनमा चुरापोतेको माग बढ्ने र विक्री समेत बढ्छ,’ उनले भने।

अर्का व्यापारी महमद् मन्सुरले विगतमा जस्तो यसपाली व्यवसाय नभएको प्रतिक्रिया दिए। उनले एउटा पोतेको न्यूनतम मूल्य एकसय रुपैंयाँदेखि सुरु भइ ६ सयसम्म रहेको बताए।

चुरापोते चीनबाट आयात भएपनि मालाका आइटहरु भने युरोपबाट पनि आउने गरेको उनले सुनाए।

‘चुरापोते पहिला जस्तो व्यापार व्यवसाय छैन्। पहिले व्यापार व्यवसाय ठिकै थियो अहिले खासै छैन्। पोतेको मूल्य एकसयदेखि ६ सय रुपैंयाँ पर्छ। त्यो भन्दा माथिको नेपाली बजारमा खासै विक्री हुँदैन्। तिजमा सिंगल पोते वा मालाहरु प्रयोग हुन्छ। विवाहको बेला छड्के र माइली तिलहरी बढी विक्री हुन्छ,’ उनले भने।

त्यस्तै ४० बर्ष देखि चुरा तथा कस्मेटिकको सामग्रीको व्यापार गर्दै आएकी न्यूरोडकी पुर्णिमा दर्शनले तिजको बेलामा व्यापार व्यवसाय फस्टाएको प्रतिक्रिया दिइन्।

उनले हिजोआज चुराको डिजाइनहरु टिकटिकबाटै आउने गरेको पनि सुनाइन। उनले चुराको मूल्य ५० देखि एक हजार रुपैंयाँसम्मका विक्री हुने गरेको पनि बताइन्। चाडपर्वका बेला चुरा–पोते, धागो र टिका बढी विक्री हुने गरेको बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.