सांसदहरुको आक्रोश : सदनलाई प्रधानमन्त्रीका व्यंग्य र टुक्का सुन्ने थलो बनाइयो

डिसी नेपाल
१३ भदौ २०८२ १७:३४
120
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले सरकार जनताको आवाज दबाउने प्रयासमा लागेको आरोप लगाएकी छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले संसदमा सरकार जनमुखी नभएको र सत्ताका निकट व्यक्तिहरूलाई जोगाउन मात्रै लागेको आरोप लगाइन्।

रास्वपाले जहिले पनि जनताको आवाज उठाइरहेको हो सदनमा,’सांसद कठायतले भनिन्, ‘मान्छे बेचिएको, नागरिक बेचिएको भन्ने समाचार आउँदा सरकार मौन बस्नु हुँदैन।दोषीमाथि कारबाही गर्नुपर्ने हो। तर सरकार जनताको पीडाभन्दा पनि आफ्नो कुर्सी जोगाउने र आफ्ना मान्छेहरूलाई कसरी जोगाउने भन्नेमा केन्द्रित छ।’

उनले संसदमा जनताको आवाज नसुन्ने हो भने रास्वपाका सांसदहरूले संसदमा बसिरहनुको औचित्य नभएको भन्दै बहिष्कार जारी रहने समेत बताइन्।

उनले भनिन्, ‘आज पनि हामीले संसद बहिष्कार गरेका छौं, यो बहिष्कार निरन्तर चलिरहन्छ। संसद प्रधानमन्त्रीका व्यंग्य र टुक्का सुन्ने थलो मात्रै होइन।’

यसैबीच, नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा सांसद बामदेव गौतमले नेपालभारत सीमा विवादमा सरकार गम्भीर नभएको बताएका छन्।

उनले विशेषगरी लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा सरकारको उदासीनता उल्लेख गरे।

भारतले कालापानी र लिम्पियाधुरा जबर्जस्ती कब्जा गरेको हो, त्यो हामीसँग प्रमाण छ,’ गौतमले भने, ‘सरकारले भारत र चीनका राजदूतलाई बोलाएर छलफल गर्नुपर्ने हो, तर अहिलेसम्म कुनै पहल देखिएको छैन।’

गौतमले भारतले महाकाली नदीमा नक्कली मन्दिर बनाएको र त्यसैलाई वास्तविक महाकाली भनेर प्रचार गरेको आरोपसमेत लगाए।

भारतसँग भारत भन्ने प्रमाण छैन। भारत भनेको के हो त्यो प्रमाण छैन तर भारत भयो त्यहि हो प्रमाण। हाम्रो लिम्पियाधुरा हामीसँग छ त्यो हो प्रमाण। कालापानी हामीसित थियो त्यो जबरजस्ती कब्जा गरेको हो भारतले। त्यो हामीसँग प्रमाण छ। भारतले महाकालीमा नक्कली मन्दिर र धारो बनाएर झुटो प्रचार गरिरहेको छ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.