न्याय परिषद्वारा ६ जिल्ला न्यायाधीश नियुक्त
काठमाडौं । न्याय परिषद्ले रिक्त जिल्ला न्यायाधीशको पदमा ६ जनालाई नियुक्ति गरेको छ। मंगलबार बसेको न्याय परिषद्को बैठकले न्याय समूह, कानुन समूह र सरकारी वकिललाई समेट्दै जिल्ला न्यायाधीश नियुक्ति गरेको हो।
परिषद्ले चार जना न्याय सेवाका एक जना सरकारी वकिल र एक जना कानुन सेवाका अधिकृतलाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलालाई कैलाली, उपरजिष्ट्रार अरुणकुमार कोइरालालाई डडेलधुरा, स्रेस्तेदार कुलप्रसाद दाहाललाई कालिकोट, इजलास अधिकृत सूर्यप्रसाद भण्डारीलाई कञ्चनपुर, उपरजिष्ट्रार अनुपमा पन्तलाई धनुषा र उपसचिव विश्वदीप वेस्रालाई रौतहट जिल्ला अदालतमा नियुक्ति गर्दै पदस्थापना समेत गरेको छ।
संविधानमा जिल्ला न्यायाधीशको हकमा रिक्त पदमध्ये २० प्रतिशत सिफारिस हुने, ४० प्रतिशत कर्मचारीबाट खुला प्रतियोगितामार्फत आउने र ४० प्रतिशत कर्मचारी वा वकालततर्फ कम्तीमा ८ वर्षको अनुभव हासिल गरेकोमध्ये खुला प्रतिस्पर्धाका आधारमा नियुक्त हुने प्रावधान छ।
यस बाहेक न्याय परिषद् ऐन–२०७३ को दफा ५ मा संविधानको अधीनमा रही समानुपातिक समावेशी सिद्धान्तबमोजिम वरिष्ठता, अनुभव, आचरण, ख्याति लगायतको विषयलाई सिफारिसको आधार मान्नुपर्ने भनिएको छ।

No ads found for this position



डिसी नेपाल
Facebook Comment