‘शी लिड्स आइकन’को दोस्रो संस्करणमा छानिए ३१ महिला जनप्रतिनिधि
काठमाडौं। महिलाको नेतृत्व क्षमतालाई उजागर गर्ने उद्देश्यसहित ‘शी लिड्स आइकन’ को दोस्रो संस्करण आगामी पुस १८ देखि २२ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा यसबारे जानकारी दिइएको हो। राजनीतिमा महिला सहभागिता, स्वास्थ्य, उद्यमशीलता र किशोरी सशक्तीकरणजस्ता क्षेत्रमा चार वर्षदेखि कार्यक्रम र वकालत गर्दै आएको ‘कल्प इम्पावर विमेन नेपाल’ ले तीनदिने महिला उत्सव आयोजना गर्न लागेको हो। यसअघि २०८१ पुस १९ गते राजधानीमै पहिलो संस्करण प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न भएको थियो।
यस संस्करणका लागि कूल १३१ आवेदन प्राप्त भएका थिए। पूर्वमुख्यमन्त्री तथा राजनीतिज्ञ अष्टलक्ष्मी शाक्य, सञ्चार एवं ब्रान्ड रणनीतिज्ञ चारु चड्डा र लैङ्गिकता विशेषज्ञ सरु जोशी रहेको निर्णायक मण्डलले तीमध्ये ३१ महिला जनप्रतिनिधिलाई प्रेरणादायी नेतृत्वको रूपमा छनोट गरेको छ।
निर्णायक मण्डलकी सदस्य शाक्यले महिला जनप्रतिनिधिको कामको मूल्यांकन हुन नसकेको बताइन्। ‘महिला भएर जनप्रतिनिधि हुन कति गाह्रो छ, आफ्ना छोराछोरी, परिवारलाई हेर्नुपर्यो, अफिसको काम पनि हेर्नुपर्यो’, उनले भनिन्, ‘हामीले छनोट गरेका जनप्रतिनिधिमा प्रतिबद्धता, योजना, दृष्टिकोण देखिन्छ। उहाँहरूलाई प्रोत्साहन गर्न जरुरी छ।’
यी ३१ जनामध्येबाट पुस २२ गते ७ जनालाई आइकन घोषणा गरिने परियोजना प्रमुख सम्राट थापाले बताए। ‘जनमत, ग्राउन्ड रिपोर्ट र निर्णायक मण्डलको अन्तर्वार्ता माध्यमबाट आइकन छनोट हुनेछ’, उनले भने।







डिसी नेपाल







Facebook Comment