चाडपर्वमा बढी भाडा असुल्नेलाई कारबाहीको दायरामा ल्याउन सांसदहरुको माग

डिसी नेपाल
१८ भदौ २०८२ १६:४५
16
Shares

काठमाडौं। सांसदहरुले चाडपर्व निजिकिएसँगै यातायत सहज रुपमा सञ्चालन गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।

दशैँतिहारमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरुको चापको मध्यनजर गर्दै सिटभन्दा बढी यात्रु राख्ने, तोकिएको भाडाभन्दा बढी असुल्ने लगायतका गतिविधि बढ्ने भएकाले कडा निगरानी गर्न माग सांसदहरुले गरेका हुन्।

संघीय संसद् प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसद शोभा ज्ञवालीले चाडपर्व निजिकिएसँगै यात्रुहरुलाई सहज रुपमा यात्राको व्यवस्था मिलाउन ध्यानाकर्षण गराइन्। उनले बस व्यवसायीहरुले तोकिएको भाडाभन्दा बढी असुल्ने, यात्रुहरुलाई धम्की दिनेजस्ता सास्ती यात्रुहरुले भोग्नुपरेको बताइन्।

सांसद शान्ति चौधरीले दशैँमा घर फर्किनका लागि अग्रिम टिकट बुकिङमा पनि यात्रुहरु ठगिनुपरेको भन्दै महँगो भाडा लिने, सिटभन्दा बढी यात्रु राख्ने गरिएको बताइन्। उनले बर्सातको बेलामा बाटो बिग्रेकाले यथाशीघ्र निर्माण कार्यमा ध्यान दिनुपर्ने बताइन्।

सांसद सीता गुरुङले नजिकिँदो चाडपर्वमा दैनिक उपभोग्य खाद्यवस्तु र लत्ताकपडामा कृत्रिम अभाव सिर्जना गराउने सम्भावना भएकाले अनुगमन गर्न प्रभावकारी टिम बनाउन माग गरिन्। उनले बिग्रेका बाटाको निर्माणमा प्राथमिकता दिन, चाडपर्वका बेला सडक र हवाई यातायातमा सहज टिकटको व्यवस्था र मनपरि भाडा असुल्नेलाई कडा अनुगमन गर्न माग गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *