काभ्रेमा कफीको व्यावसायिक विस्तार : उत्पादन र निर्यात बढेपछि ग्रामीण अर्थतन्त्र बलियो बन्दै
बनेपा। मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरामा अरेबिका जातको कफीका लागि उपयुक्त हावापानी र माटो रहेकाले यसको व्यावसायिक खेती तीव्र रूपमा विस्तार भइरहेको छ। कफी खेतीले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै किसानको आम्दानी, रोजगारी र वैदेशिक मुद्रा आर्जनको सम्भावनालाई थप बलियो बनाएको छ।
कफी खेतीको विस्तार र उत्पादनका हिसाबले काभ्रेपलाञ्चोक मुलुककै अग्रणी जिल्लाका रूपमा स्थापित भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार देशभर ५ हजार ५०१.०५ हेक्टर क्षेत्रफलमा कफी खेती हुँदा ६४१.९० मेट्रिक टन ग्रिन बिन कफी उत्पादन भएको छ। देशका ४३ भन्दा बढी पहाडी जिल्लामा कफी खेती विस्तार भइसकेको छ।
काभ्रेपलाञ्चोकमा मात्रै ४९७ हेक्टर क्षेत्रफलमा कफी खेती हुँदै आएको छ भने १२१ मेट्रिक टन ग्रिन बिन कफी उत्पादन भएको छ। क्षेत्रफल र उत्पादनका आधारमा काभ्रे देशकै पहिलो जिल्ला बनेको छ।
स्थानीय तहको प्रोत्साहन : बोट र उत्पादनका आधारमा अनुदान
काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका सबै वडामा कफी खेती विस्तार भई वार्षिक २१९.८३ मेट्रिक टन काँचो कफी (कफी चेरी) उत्पादन भइरहेको छ। गाउँपालिकाले कफीलाई स्थानीय अर्थतन्त्रको मुख्य आधार बनाउन विभिन्न प्रोत्साहन कार्यक्रम सञ्चालन गरिरहेको छ।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म किसानलाई ५ लाख ६६ हजार ५०० भन्दा बढी सुधारिएको कफीका बिरुवा वितरण गरिएको जानकारी दिए। गाउँपालिकाले ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ बीसको नोट’ अभियानमार्फत जीवित कफीका बोट गनेर प्रतिबोट २० रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ।
महाभारतका किसान शङ्खलाल थोकरले १९ रोपनी क्षेत्रफलमा कफी खेती गर्दै वार्षिक दुई हजार किलोग्रामसम्म कफी उत्पादन गर्दै आएका छन्। मेहनत र समय लागे पनि बजारीकरणको सुनिश्चितताले राम्रो आम्दानी भइरहेको अनुभव उनले सुनाए। अर्का किसान कृष्णबहादुर मोक्तानले वार्षिक ५०० किलोग्राम कफी उत्पादन गर्दै प्रशोधन र मूल्यको सुनिश्चितता थप बलियो बनाउनुपर्नेमा जोड दिए।
त्यस्तै, काभ्रेकै खानीखोला गाउँपालिकाले ‘जसको उत्पादन उसैलाई अनुदान’ नीति अवलम्बन गर्दै १० लाख रुपैयाँ बराबरका बिरुवा वितरण गर्नुका साथै आठ किसान समूहलाई पल्भर मेसिन उपलब्ध गराएको छ।
पछिल्लो समय ८१ मेट्रिक टन कफी चेरी संकलन भएको र किसानलाई प्रतिकिलो ३५ रुपैयाँ उत्पादन प्रोत्साहन रकम दिइएको कृषि शाखा प्रमुख विकास तामाङले बताए। गाउँपालिका अध्यक्ष इन्द्रबहादुर तामाङले कफीलाई दीर्घकालीन आयस्रोतका रूपमा विकास गर्ने नीति लिइएको उल्लेख गरे।
केन्द्रीय कफी उत्पादक सहकारी सङ्घका केन्द्रीय सदस्य तुलसीराम धितालले नेपालमा कफीको उच्च सम्भावना रहेकाले प्रशोधन केन्द्र, सङ्कलन केन्द्र र जैविक प्रमाणीकरणलाई प्राथमिकता दिनुपर्ने बताए।
कफी उत्पादन, निर्यात र आयातको अवस्था
नेपालमा आर्थिक वर्ष २०८०/८१ मा ४ हजार ३०९ हेक्टरमा ५०१.३० मेट्रिक टन ग्रिन बिन कफी उत्पादन भएकामा आव २०८१/८२ मा बढेर ५ हजार ५०१.०५ हेक्टरमा ६४१.९० मेट्रिक टन पुगेको छ। एकै वर्षमा खेतीको क्षेत्रफल १ हजार १९२ हेक्टर र उत्पादन १४०.६ मेट्रिक टनले वृद्धि भएको हो।
प्रदेशगत रूपमा बागमती प्रदेशमा २९२.४५ मेट्रिक टन, गण्डकीमा १५६ मेट्रिक टन, कोशीमा १२८.५५ मेट्रिक टन, लुम्बिनीमा ६२.०९ मेट्रिक टन, कर्णालीमा २.७० मेट्रिक टन र सुदूरपश्चिममा ०.०९ मेट्रिक टन कफी उत्पादन भएको छ। जिल्लागत रूपमा काभ्रे (१२१ मेट्रिक टन) पछि नुवाकोट (९०.५० मेट्रिक टन), इलाम (८३ मेट्रिक टन), स्याङ्जा र लमजुङ (३३–३३ मेट्रिक टन) तथा गुल्मी (३० मेट्रिक टन) अगाडि छन्।
उत्पादनसँगै निर्यात पनि बढेको छ। आव २०८१/८२ मा नेपालबाट १ करोड १४ लाख ३६ हजार ९७२ रुपैयाँ बराबरको ६३ हजार ९९७.५५ किलोग्राम कफी २२ भन्दा बढी मुलुकमा निर्यात भएको छ।
जसमध्ये जर्मनीमा मात्रै कुल निर्यातको ४७.४ प्रतिशत (५४ लाख २५ हजार ६०० रुपैयाँ बराबरको २७ हजार ९८१.७ किलोग्राम) कफी पठाइएको छ। जापान, बेलायत, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड र इटाली पनि नेपाली कफीका मुख्य बजार हुन्।
अर्कातर्फ कफीको आयात भने घटेको छ। आव २०८०/८१ मा ४१ करोड ९८ लाख रुपैयाँ बराबरको ४४३ मेट्रिक टन कफी आयात भएकामा आव २०८१/८२ मा घटेर १४ करोड ४१ लाख रुपैयाँ बराबरको २०३.३ मेट्रिक टनमा झरेको छ।
मूल्यमा सुधार आउँदा किसानको आकर्षण थप बढेको छ। आव २०७७ मा प्रतिकिलो १४८ रुपैयाँ रहेको ‘ए’ ग्रेड ड्राइ चेरीको मूल्य आव २०८१/८२ मा बढेर २८० रुपैयाँ पुगेको छ।
स्थानीय तहको लगानी, किसानको श्रम र बजारको पहुँचलाई एकीकृत गर्न सके काभ्रेको कफी मोडल अन्य पहाडी जिल्लाका लागि पनि सिकाइको राम्रो नमुना बन्ने देखिन्छ।
No ads found for this position




Facebook Comment