पार्टीप्रति प्रतिबद्ध सबैलाई सदस्यता वितरण गर्न निर्देशन

डिसी नेपाल
१९ भदौ २०८२ ७:३३
56
Shares

काठमाडौं। नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिहरुलाई नेपाली कांग्रेसप्रति प्रतिबद्ध र योग्य सबैलाई बिनाभेदभाव पार्टीको क्रियाशील सदस्य र जनसम्पर्क सदस्यता नवीकरण तथा वितरण गर्न निर्देशन दिएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिका सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको विभागको बैठकले सो निर्णय गरेको हो।

बैठकमा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख पौडेलले केही देशहरुमा क्रियाशील र जनसम्पर्क सदस्यता वितरण न्यायोचित नभएको गुनासो आएकोले यस्तो निर्देशन गर्नुपर्ने अवस्था आएको बताए ।

उनले नेपाली कांग्रेसको २०८२ आषाढ १६ देखि २३ गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेसको विधान र नियमावली अनुसार पदावधि समाप्त भएका विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिहरूलाई २०८२ पौष मसान्तभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन गरेको स्मरण गराएका थिए।

उनले केन्द्रीय समितिको निर्णयपश्चात् साउन महिनामा कार्यसमितिको बैठक बसी कार्यतालिका तय गरी २०८२ साल आश्विन महिनाभित्र नेपाली कांग्रेसको क्रियाशील सदस्य र जनसम्पर्क समितिको सदस्य नवीकरण र नयाँ सदस्यता वितरण गरी नामावली केन्द्रीय कार्यालयमा पठाई विभागसंग समन्वय गरी अधिवेशनको मिति तय गर्न सबै जनसम्पर्क समितिहरूलाई केन्द्रीय कार्यालयबाट परिपत्र समेत भैसकेको जानकारी गराए।

केन्द्रीय कार्यालयको परिपत्र पश्चात् विभागको समन्वयमा विदेशस्थित जनसम्पर्क समितिहरुलाई क्रियाशील र जनसम्पर्क सदस्यता पठाइएको तर केही देशमा सदस्यता वितरणमा गुनासो आएकोले पार्टीका महामन्त्रीको संयोजकत्वमा रहेको पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिले यस्तो निर्णय गरेको पनि उनले जानकारी गराए। बैठकले सबै जनसम्पर्क समितिहरुलाई नेपाली कांग्रेसको विधान र नियमावली अनुरुप काम गर्न पनि निर्देशन दिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *