कैलाली जनपुस्तकालयको अध्यक्षमा ओझा निर्विरोध

डिसी नेपाल
१९ भदौ २०८२ १४:२२
12
Shares

धनगढी । धनगढीस्थित कैलाली जनपुस्तकालयको अध्यक्षमा शिवराज ओझा निर्विरोध चयन भएका छन्। बुधबार सम्पन्न ४८औँ साधारणसभाबाट ओझा निर्विरोध अध्यक्ष चयन भएका हुन्। ओझासँग दुई कार्यकाल उपाध्यक्षको कार्यानुभव छ।

त्यस्तै अन्य थप १० सदस्य भने निर्वाचन प्रक्रियाबाट चयन भएका छन्। निर्वाचित हुनेमा टंक प्रसाद जोशी, शेरसिहं खड्का, राजेन्द्र रैका, सुवाष चन्द्र भण्डारी, जयराज जोशी, राधा कुमारी फुलारा, डिल्ली राज ओझा सम्पर्ण, टीआर पाठक, सुशीला भट्ट र पदम राज जोशी रहेका छन्।

कैलाली जनपुस्तकालय प्रबन्ध समितिको विधान २०५७ को परिच्छे ५ दफा २३ बमोजिम गठन भएको कार्यसमितिको निर्वाचनमा कुल ८२० मतदातामध्ये ३०१ मत खसेको थियो। खसेको मतमध्ये १४ मत बदर भएका थिए। निर्वाचनमा जम्मा १९ जनाले उम्मेदवारी दिएका थिए। अब बस्ने कार्यसमिति बैठकले थप ४ जनालाई मनोनित गर्दै प्रबन्ध समितिलाई जिम्मेवारी बाँडफाँड सहित पूर्णता दिनेछ।

२०१४ सालमा स्थापना भएको सुदूरपश्चिमकै जेठो पुस्तकालय, कैलाली जनपुस्तकालय २०४० सालसम्म जिल्ला पञ्चायत सभापति पदेन अध्यक्ष हुने व्यवस्था थियो। २०४० सालबाट पुस्तकालयले आजीवन सदस्य बनाउने र तीनैमध्येबाट अध्यक्ष चयन गर्न थालियो। त्यसपछि २०३७ सालमा कैलाली जनपुस्तकालयको पहिलो अध्यक्षको रुपमा साहित्यकार स्व. देवकान्त पन्त भए। आजीवन सदस्यबाट कार्यसमिति बन्न थालेपछि जनपुस्तकालयले गतिविधि बढाउन थाल्यो।

हाल कैलाली जनपुस्तकालयमा दर्ता भएका २५ हजार र विभिन्न दाताबाट संकलन गरिएका ७० हजार गरी ९५ हजार पुस्तक छन्। स्थानीय, राष्ट्रिय, दैनिक, साप्ताहिक, मासिक, त्रैमासिक, पाक्षिक र वार्षिक गरी सबै जसो पत्रपत्रिकाको पनि भण्डार जनपुस्तकालयसँग छ । ५० वर्षअघिको गोरखापत्र सुरक्षित रूपमा राखिएको छ । बीपी कोइराला धनगढी आएका बेला भिजिटरका रूपमा जनपुस्तकालय पुगेर उनले गरेको हस्ताक्षर पनि सुरक्षित राखिएको छ।’

त्यसअघि साधारण सभा कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टिएन जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो भने उक्त साभारण सभाका प्रमुख अतिथिको रुपमा सुदूरपश्चिम प्रदेश सरकारका अर्थराज्य मन्त्री प्रकाश बम रहेका थिए। त्यस्तै संस्थाका पूर्वअध्यक्ष, साहित्यकार र पाठकको बाक्लो उपस्थिति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.