सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अधिनायकवादको सङ्केत : स्वर्णिम वाग्ले

डिसी नेपाल
२० भदौ २०८२ १८:४९
80
Shares

रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अधिनायकवादतर्फ उन्मुख प्रवृत्ति भएको बताएका छन्।

शुक्रवार मन्थलीमा पत्रकारहरूसँग कुरा गर्दै वाग्लेले आजको डिजिटल युगमा सूचना प्रवाहलाई जबरजस्ती रोक्ने प्रयास सूर्यलाई हत्केलाले छेक्ने प्रयास जस्तै असम्भव हुने बताए।

सामाजिक सञ्जाललाई व्यवस्थित र नियमन गर्ने काम सुझबुझका साथ चरणबद्ध रूपमा गर्नुपर्नेमा प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको सङ्केत भएको उनको भनाइ छ।

करिब ८० लाख नेपाली विभिन्न देशमा बसोबास गरिरहेका र उनीहरूका लागि आफ्ना आफन्तसँग जोडिने प्रमुख माध्यम सामाजिक सञ्जाल नै भएको उनको भनाइ छ। यस्तो परिस्थितिमा सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा व्यापक जनआक्रोश सिर्जना हुने र जनताको आवाज दबाउन नसकिने उनको भनाइ छ।

रास्वपाले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको र काठमाडौँ फर्किएपछि यस विषयमा थप विस्तृत रूपमा सार्वजनिक रूपमा बोल्ने उनले बताए। सरकारको यो कामले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र व्यवसाय समेत खोसेको उनको आरोप छ।

अदालतले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न भनेको बताउँदै उनले प्रतिबन्ध लगाउन नभनेका दाबी गरे। ’कानुन बनाएर व्यवस्थित गर भनेको हो, बन्द गर भनेको होइन, सरकारले नबुझेको हो, अदालतको स्प्रिडलाई सरकार बुझेन’, उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.