रुपन्देहीको बुटवल-भैरहवा क्षेत्रमा कर्फ्यू आदेश
रुपन्देही। जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल–भैरहवा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न आज(सोमबार)दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम रुपन्देही जिल्लाका बुटवलदेखि भैरहवा क्षेत्रसम्म आज अपरान्ह ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो।
जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले हस्ताक्षर गरेको सूचनामा उल्लेख अनुसार तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
कर्फ्यू लागू हुने क्षेत्रहरू यस्ता छन्ः
बुटवल क्षेत्र।
पूर्वः पेट्रोल पम्प धागो कारखाना पुलसम्म।
पश्चिमः बेलवास चोकसम्म।
उत्तरः चिडिया खोलासम्म।
दक्षिणः मंगलापुरसम्म।
भैरहवा क्षेत्र
पूर्वः रोहिणी खोला पुलसम्म।
पश्चिमः बेथरी पुलसम्म।
उत्तरः बुद्धचोकसम्म।
दक्षिणः मेउडीहवासम्म।
त्यसैगरी, बुटवल–बेलहिया सडकखण्डको दायाँबायाँ एकसय मिटर क्षेत्रभित्र पनि कर्फ्यू लागू हुनेछ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले जारी गरेको आदेशमा तोकिएको क्षेत्रभित्र शान्ति सुरक्षा तथा जनसुरक्षालाई मध्यनजर गर्दै सो अवधि भित्र सर्वसाधारणलाई घर बाहिर ननिस्कन तथा कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको छ। आदेशको उल्लंघन गरे कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ।







डिसी नेपाल







Facebook Comment