धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृत्यु, सात कैदीबन्दी घाइते
मलेखु (धादिङ)। जिल्ला कारागार धादिङका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाएको छ।
सेनाको गोली लागेर अन्दाजी ७५ वर्षीय एक कैदीको मृत्यु भएको छ। सात कैदीबन्दी घाइते भएका छन्। घाइते हुनेहरु सबै पुरुष छन्। प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार कैदीबन्दीले सुरक्षा घेरा तोडेर निस्किन थालेपछि सेनाले गोली चलाएको हो।
घटनामा जनपथ र सशस्त्र प्रहरी बलका सात जना घाइते भएका छन्। घाइते प्रहरी सबैको अवस्था सामान्य छ। गोली लागेर घाइते भएका कैदीबन्दीलाई सेनाकै सुरक्षामा उपचारका लागि काठमाडौं पठाइएको छ।
मंगलबार नक्खु कारागारबाट पूर्व गृहमन्त्री रवी लामिछानेसहित अन्य कैदीबन्दी छाडेको भन्दै आफूहरुलाई पनि रिहा माग गर्दै कैदीबन्दीले कारागारमा आगजनी गरेका थिए।
गोली चलाउनु अघि सेनाले पानीको फोहोरा प्रयोग गरेर स्थिति नियन्त्रणमा लिने कोसिस गरेका थिए। उनीहरुले सेनामाथी नै आक्रमण गर्न थालेपछि सेनाले गोली चलाएको हो। जिल्ला कारागार धादिङमा २४३ कैदीबन्दी छन्। त्यसमध्ये महिला ९ जना छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment