‘अपर’ राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

डिसी नेपाल
३१ भदौ २०८२ १९:१०
80
Shares

म्याग्दी । रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माण भएको ४८ दशमलव पाँच मेगावाट क्षमताको ‘अपर’ राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ।

तुँदी पावर प्रर्वद्धक रहेको आयोजनाको बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, स्विचयार्ड निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकिएपछि आजदेखि परीक्षण उत्पादन थालिएको हो।

आयोजनाका आवासीय इञ्जिनीयर प्रकाश तिमिल्सिनाले नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीको उपस्थितिमा परीक्षण थालिएको जानकारी दिए।

‘निर्माण भएका भौतिक संरचना र जडान गरिएका उपकरणको आन्तरिक परीक्षण सफल भएपछि विद्युत् उत्पादन थालिएको हो’, उनले भने, ‘परीक्षणका क्रममा कुनै समस्या नदेखिएकाले १५ दिनपछि व्यावसायिक उत्पादन सुरु गर्ने तयारीमा छौं।’

रघुगङ्गा गाउँपालिका७ चिमखोलामा बाँध र वडा नं ४ दग्नामको फेदीमा विद्युत्गृह रहेको यस आयोजनाको सुरुङ चार हजार ९०० मिटर लामो छ। ‘आउटलेट’देखि विद्युत्गृहसम्म छ सय ८० मिटर लामो ‘पेनस्टक पाइपलाइन’ जडान गरिएको छ।

अपर राहुघाटको इलेक्ट्रोमेकानिकल ठेकेदार एभरेष्ट हाइड्रो हो भने हाइड्रोमेकानिकल ठेकेदार माछापुच्छ्रे मेटल एण्ड मेसिनरी हो । विसं २०७७ देखि निर्माण सुरु भएको यस आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा कन्ट्रक्सन हो। साउथ एशियन इन्फास्ट्रक्चरले यसको सुरुङ बनाएको हो।

तुँदी पावरले निर्माण गरेको ३७ दशमलब पाँच मेगावाट क्षमताको चिमखोलाराहुघाटमङ्गले जलविद्युत् आयोजनाले गत असारदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले यही भदौ महिनादेखि व्यावसायिक उत्पादन थालेको थियो।

चिमखोला मङ्गले राहुघाटको विद्युत्गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी प्रयोग गरेर अपर राहुघाटबाट विद्युत् उत्पादन गरिएको हो । दुई वटै आयोजनाको अनुमानित लागत १३ अर्ब रहेको छ। यी आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगङ्गा गाउँपालिका३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डबाट अस्थायी रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ।

बन्दीदेखि चिमखोलास्थित चिमखोलाराहुघाटमङ्गलेको विद्युत्गृहसम्म आठ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन ठूलोखोला र २२ दशमलव पाँच मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले साझेदारी गरेर बनाएका छन्। चिमखोलादेखि तिल्केनीसम्म २२० केभी क्षमताको प्रसारण लाइन ठूलोखोला, माथिल्लो ठूलोखोला, चिमखोलाराहुघाटमङ्गले र अपर राहुघाट जलविद्युत् आयोजनाले बनाएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.