संविधान दिवसमा एमाले नेताहरूको प्रतिबद्धता : आलोचना स्वीकार, सुधारमा अग्रसर

डिसी नेपाल
३ असोज २०८२ १०:००
100
Shares

काठमाडौं। नेकपा (एमाले) ले संविधान दिवसका अवसरमा संविधानको महत्वमाथि चर्चा गर्दै आन्तरिक समीक्षा, राजनीतिक एकता र असन्तुष्टिको कारणप्रति गम्भीर चासो व्यक्त गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा महासचिव शंकर पोखरेल र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान दिवसलाई आत्ममूल्यांकन र राष्ट्रिय एकताको दिवसको रूपमा मनाउनुपर्ने धारणा राखे।

महासचिव शंकर पोखरेलले पार्टी आलोचना र समीक्षा गर्नबाट कहिल्यै पछि नहटेको स्पष्ट पारे। ‘समीक्षाबाट भाग्ने पार्टी होइन नेकपा एमाले,’ उनले भने, ‘हरेक जटिल मोडमा इतिहास र कामको समीक्षा गर्दै त्यसकै जगमा पार्टीलाई अगाडि बढाउने प्रयास गरेका छौं।’

उनले अहिले देखिएको असन्तुष्टि र आक्रोशको जडमा युवावर्ग, सुकुम्बासी र प्रवासी जनताबीच बढ्दो दूरी रहेको स्वीकार गर्दै ती वर्गको भावना समेट्न नसकिएको कमजोरीप्रति संकेत गरे। ‘महशुस गर्‍यौं, योजना बनायौं, तर जीवन्त बनाउन सकिएन,’ उनले भने। ‘आजको असन्तोष ती योजनालाई व्यवहारमा नल्याउन सक्दाको परिणाम हो भन्ने कुरा बुझ्न जरुरी छ।’

महासचिव पोखरेलले विशेष गरी युवाहरुलाई राजनीतिसँग जोड्ने उद्देश्यसहित एमालेले मिशन सुरु गरे पनि त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न नसकेको उल्लेख गरे। उनले आगामी दिनमा पार्टी युवावर्गसँग पुनः गहिरो सम्पर्कमा जाने स्पष्ट संकेत दिए।

यसै अवसरमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान दिवसलाई नेपाली जनताको संकल्प र राष्ट्रिय एकताको प्रतीकका रूपमा स्मरण गरे। ‘यो दिवस हाम्रो एकताको दिवस हो,’ उनले भने, ‘जसले देशलाई नयाँ उचाइमा पुर्‍याउने सपना बोकेको छ।’

ईश्वर पोखरेलले विगतमा एमालेले अनेक चुनौती र षड्यन्त्र सामना गर्दै यहाँसम्म आइपुगेको बताउँदै अहिले देखिएको अशान्ति र अस्थिरताको अवस्थामा पनि धैर्य, एकता र अग्रगमन आवश्यक रहेको बताए। ‘हामी शान्त तलाउमा डुंगा चलाएर यहाँसम्म आएका होइनौं,’ उनले भने, ‘प्रत्येक कालखण्डमा चुनौतीको सामना गर्दै अघि बढेका हौं।’

दुवै नेताले संविधानको रक्षा, युवालाई समावेश गर्ने रणनीति र समसामयिक असन्तुष्टिको कारणलाई सुधारको अवसरको रूपमा उपयोग गर्दै पार्टीलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *