राष्ट्रपति, सेनापति र नेताहरूसँग कुरा गरेर संविधान बचाउन सहजीकरण गरेको प्रचण्डको दाबी

डिसी नेपाल
३ असोज २०८२ ११:३४
96
Shares

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने कसरत भएको बताएका छन्। शुक्रबार संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘इतिहासले, घटनाक्रमले र संयोगले यो प्रक्रियामा कुनै न कुनै रुपले सहजीकरण गर्ने अवसर दियो मलाई। मैले संसद विघटन मात्रै होइन। संविधान खारेज गर्ने र राष्ट्रपति हटाउन के कस्ता कसरत भए भन्ने कुरा नजिकबाट हेर्ने, बुझ्ने अवसर पाएँ’, उनले भने, ‘अन्तिममा हुन सक्ने जति सहजीकरण रातभर बसेर सम्माननीय राष्ट्रपति, प्रधानसेनापति र अन्य दलका नेताहरुसँग संवाद गरेर अन्तरिम सरकारको यो रुपमा गएर पनि संविधान बचाउनु पर्छ भनेँ।’

उनले निकै अप्ठ्यारो परिस्थितिमा संविधानलाई रक्षा गर्न राष्ट्रपति पौडेल उभिएकाले उनलाई धन्यवाद समेत दिए। प्रधानसेनापतिको भूमिका पनि प्रशंसनीय रहेको उनले धन्यवाद दिए। उनले जेनजीले उठाएका मागहरू आफूहरूले १० वर्ष अगाडि नै उठाएको बताए। अहिले जेन जी आन्दोलन गर्नु पर्ने र दर्जनौँ युवाहरूले ज्यान गुमाउनु पर्ने परिस्थिति सिर्जना हुनु राम्रो नभएको उनले बताए । अहिले ठूला दल भनेर अहंकार गर्दा देश भयानक परिस्थितिमा आएको समेत उनको तर्क छ।

उनले भने फागुन २१ गते गर्ने भनिएको चुनाव सजिलो नभएको पनि टिप्पणी गरे।

उनले भने,‘सजिलो छैन निर्वाचन। मानिसहरूलाई विश्वास भई पनि राख्या छैन। कहिलेकाहीँ त प्रधानमन्त्री स्वयम् बाहिर बोल्दा पनि के हो भन्या जस्तो आयो। तर हामी भन्छौँ, सबै जेनजी विद्रोहीदेखि आम नेपाली जनता र राजनीतिक शक्तिहरू एकजुट हुने हो भने निर्वाचन सम्भव छ। त्यसकारण म आज ११औँ संविधान दिवसको उपलक्ष्यमा ती तमाम देशभक्त नेपालीहरू, सबै बुद्धिजीवी, नागरिक समाज र राजनीतिक शक्तिहरूलाई अपिल गर्न चाहन्छु । यो इतिहासको गौरवशाली जगमा, क्रान्तिको इतिहासको गौरवशाली जगमा उभिएर फेरि राष्ट्रिय विचार, राष्ट्रिय शक्ति, राष्ट्रिय आन्दोलन निर्माण गरेर विदेशी शक्तिहरूले नेपाललाई फेरि एउटा खेल मैदान बनाउने खतराका विरुद्ध हामी उभिनै पर्छ, हामी अगाडि बढ्नै पर्छ, यसको कुनै विकल्प छैन भन्ने म ठान्छु।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.