प्रधानमन्त्री कार्कीलाई कालीबाबाको बधाई, जेनजीका माग पूरा गर्न आग्रह

डिसी नेपाल
३ असोज २०८२ १४:४६
76
Shares
काठमाडौं ।  अन्तर्राष्ट्रिय सन्त एवं धार्मिक अभियन्ता कालीबाबा (श्री श्री १००८ महामण्डलेश्वर स्वामी कृष्णनन्द परमहंश बाबा कालीदास) ले जेनजी आन्दोलनका सन्दर्भमा छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्।
कालीबाबाले प्रधानमन्त्री सुशीला कार्कीलाई कार्यकालको सफलताका लागि भिडियो सन्देशमार्फत शुभकामना दिँदै जेनजी आन्दोलनसँगै भ्रष्टाचारीलाई कारबाही गर्न शक्तिशाली आयोग गठन गर्न सरकारसँग आग्रह गरेका हुन्।
कालीबाबाले देशमा व्याप्त भ्रष्टाचार निर्मूल गर्नका लागि शक्तिशाली आयोग बनाएर छानबिन गरी कडा कानुनी कारबाही गर्न पनि सरकारसँग आग्रह गरेका छन्।
‘जेनजी आन्दोलनमा भएको जनधनको क्षतिको छानबिन गर्न आयोग गठन गर्नुपर्छ, साथै भ्रष्टाचार गरेर हाम्रो देशलाई यो हालतमा लाने सबैलाई कानुनी दायरामा ल्याउन शक्तिशाली आयोग बनाउनैपर्छ,’ कालीबाबाले भनेका छन्।
साथै कालीबाबाले जेनजी आन्दोलनको जगमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा बनेको सरकारले प्रतिनिधिसभा निर्वाचन गर्ने, जेनजी पुस्तासँगै सम्पूर्ण नेपालीको आकांक्षा पुरा गर्न अग्रसर हुने विश्वास व्यक्त गरेका छन्।
कालीबाबाले प्रधानमन्त्री कार्कीसँगै नवनियुक्त मन्त्रीहरूलाई पनि राष्ट्रको हितलाई दृष्टिगत गरी नेपाललाई उन्नतिको पथमा अघि बढाउन देशभक्त भएर काम गर्न आग्रह गरेका छन्।
‘मातृशक्ति, पूर्वप्रधानन्यायाधीश, सच्चा राष्ट्रसेवक सुशीला कार्की नेतृत्वको सरकारले देशलाई शीघ्र शान्ति कायम गर्न सफल हुनेछ, देशमा शान्ति, समृद्धि, एकता र अखण्डता बलियो बनाउँदै समुन्नत राष्ट्र बनाउने लक्ष्यतर्फ अघि बढ्न प्रेरित गर्ने छ, भ्रष्टहरूलाई कारबाही गरेर अन्तर्राष्ट्रिय रुपमा उदाउँदो देशका रुपमा नेपाल स्थापित हुनेछ भन्ने विश्वास लिएको छु,’ कालीबाबाले भनेका छन्।
कालीबाबाले प्रधानमन्त्री कार्कीको नेतृत्वमा आगामी दिनमा नेपालले शान्ति, समुन्नति, आर्थिक विकास र रुपान्तरणको इतिहास निर्माण गर्दै सुन्दर शान्त र उन्नत राष्ट्रको इतिहास निर्माण गर्ने र यसका लागि आधारभूत तहका नागरिकलाई विश्वासमा लिने तथा आर्थिक, सामाजिक क्षेत्रसँगै अन्तर्राष्ट्रिय जगतलाई पनि विश्वासमा लिएर अघि बढ्न आग्रह गरेका छन्।
‘भदौ २३ र २४ गते नसोचेको हिंसा भयो। तत्कालीन सरकारले युवा पुस्तामाथि दमन गरेपछि परिस्थिति गम्भीर बन्यो। राष्ट्रिय सम्पत्तिमाथि ठुलो क्षति भयो, नेपालमा मात्रै होइन, विश्वमै यस्तो घटना भएको थिएन, तत्कालीन सरकारको कुकर्मले नेपाल संकटको घडी आइपुग्यो। तत्कालै आयोग बनाएर दोषीलाई कारबाही गर्नुपर्छ,’ उनले भनेका छन्।
तत्कालीन सरकारको कमजोरी र गैरजिम्मेवारका कारण देश संकटमा परे पनि सम्हालिएर अघि बढ्नुपर्ने उनले बताएका छन्। विश्वको इतिहासमै यस्तो घटना बिरलै मात्र हुने गरेको उल्लेख गर्दै आगामी दिनमा यस्तो दुःखद् स्थिति नआओस् भनेर सबैले शान्ति र सद्भाव बँचाइ राख्न उनले सबैलाई अपिल गरेका छन्।
साथै कालीबाबाले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै आफ्नो कार्यकाललाई देश र जनताप्रति समर्पित गरेर नेपाल र नेपालीको शान्तिको चाहनालाई सम्बोधन गर्न सफलता मिलोस् भनेका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *