प्रदीप पौडेलसँग कांग्रेस महाधिवेशन प्रतिनिधिको सुझाव : नियमित वा विशेष महाधिवेशनमा जाऔं

डिसी नेपाल
११ असोज २०८२ ११:२०
44
Shares

काठमाडौं । नेपाली कांग्रेसको रूपान्तरणका लागि परिवर्तनको बहस चलाएका नेता प्रदीप पौडेलले निरन्तर रूपमा सुझाव सङ्कलन गरिरहेका छन्। यसक्रममा क्षेत्रीय सभापति तथा आम कार्यकर्ताको धारणा सङ्कलन गरेका उनले पार्टीका सातै प्रदेशका महाधिवेशन प्रतिनिधिसँग अन्तरक्रिया गरेका हुन्।

वर्तमान राजनीतिमा कांग्रेसको जिम्मेवारी र सङ्गठनात्मक भूमिका’ विषयमा उनले आयोजना गरेको भर्चुअल संवादमा सहभागी अधिकांश प्रतिनिधिले नियमित वा विशेष महाधिवेशनमार्फत पार्टीमा परिवर्तन आवश्यक रहेकोमा जोड दिए।

उनीहरूले देशमा उत्पन्न फरक अवस्थामा पार्टीको जिम्मेवारी बढेको भन्दै नेतृत्व रूपान्तरण नभएसम्म यसलाई सम्बोधन गर्न नसकिने तर्क गरे। यसका लागि केन्द्रीय समितिले तत्काल स्पष्ट मार्गचित्र तय गर्नुपर्ने माग उनीहरूले राखेका छन्।

प्रतिनिधिगत रूपमा एक सय १० महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा बोल्दै उनले केन्द्रीय समिति बैठकमा आम नेता कार्यकर्ताको भावना प्रतिनिधित्व गर्न आफूले पहल गरेको बताए। ‘पार्टीको जग भनेका आम कार्यकर्ता हुन्, उनीहरूको भावनालाई केन्द्रले नसुनेसम्म पार्टी जीवन्त र गतिशील हुन सक्दैन,’ केन्द्रीय सदस्य पौडेलले भने।

उनले आफू कार्यकर्ताहरूको भावना बुझेरै पार्टी रूपान्तरण गर्नुपर्ने पक्षमा रहेको भन्दै यसलाई पार्टीभित्र वैचारिक बहसका रूपमा अघि बढाएको बताए। ‘पार्टीलाई रूपान्तरण गर्नुपर्छ भन्ने आम कार्यकर्ताको भावना बुझेरै देशव्यापी बहस र धारणा बुझ्ने अभियान थालेको हुँ,’ उनले भने, ‘तपाईंहरुको भावनाअनुसारको रूपान्तरणमा सक्दो भूमिका खेल्नेछु।’

छलफलमा सहभागी बहुमत महाधिवेशन प्रतिनिधिहरूले पार्टीलाई देशभरि पुनर्जागृत गर्न र नयाँ ऊर्जा प्रदान गर्न नियमित महाधिवेशन नै सबैभन्दा उत्तम विकल्प भएको बताए।

यद्यपि, वर्तमान नेतृत्वबाट तत्काल नियमित महाधिवेशन सम्भव नहुने आशङ्का व्यक्त गर्दै उनीहरूले विकल्पका रूपमा विशेष महाधिवेशनको मागलाई अघि सारे। यदि नियमित महाधिवेशनमा जान ढिलाइ हुन्छ भने पार्टीलाई अनिर्णयको बन्दी बनाउनु नहुने तर्क गर्दै उनीहरूले तत्काल विशेष महाधिवेशन बोलाएर भए पनि नेतृत्व र रणनीति दुवै परिवर्तन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा युवा प्रतिनिधिहरूले हालै देशमा देखिएको ’जेन जी’ आन्दोलनले उठाएका रूपान्तरण र पुस्तान्तरणका मुद्दालाई कांग्रेसले गम्भीरतापूर्वक लिनुपर्ने बताए। समयको मागअनुसार पार्टी चल्न नसके इतिहासमा सीमित हुने खतरा औँल्याउँदै उनीहरूले युवा पुस्ताको भावनालाई पार्टीले अंगीकार गर्नुपर्नेमा जोड दिए।

प्रतिनिधिहरूले गत फाल्गुन २१ मा सम्पन्न निर्वाचनको परिणामलाई पार्टीले आत्मसात् गर्दै अघि बढ्नुपर्ने र लोकतन्त्र तथा संविधानको रक्षाका लागि पार्टीभित्र पूर्ण एकता कायम गर्नुपर्ने आवश्यकता औँल्याए।

छलफलमा युवा प्रतिनिधिहरूले पार्टीको भविष्यका लागि पुरानो पुस्ताले सहज रूपमा मार्ग प्रशस्त गर्नुपर्ने र यदि त्यसो नभएमा युवाहरूले हस्तक्षेप गरेरै भए पनि नेतृत्व लिन तयार हुनुपर्ने धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.