संविधान कार्यान्वयनका लागि थप सहकार्य आवश्यक : उपराष्ट्रपति यादव

डिसी नेपाल
१३ असोज २०८२ ६:३७
40
Shares

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानको पालना, संरक्षण र कार्यान्वयनका लागि थप प्रतिबद्धताका साथ सबै पक्षले संयम, संवाद र सहकार्यको मार्ग अँगाल्नुपर्ने बताएका छन्।

विजया दशमीको अवसरमा आज शुभकामना व्यक्त गर्दै संविधानले सुनिश्चित गरेका अधिकारहरू, नागरिक स्वतन्त्रता र समावेशी प्रतिनिधित्वप्रति जनताको अपेक्षा थप प्रगाढ बनाउन विजया दशमीले उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

उनले भनेका छन्, “विजया दशमीले हामीलाई असत्य, अन्याय र समाजमा बढ्दो ध्रुवीकरण/विभाजनको विरुद्धमा एकजुट हुन प्रेरित गर्ने विश्वास लिएको छु। यो पर्वले हामी सबैमा आत्मशुद्धि, सामाजिक उत्तरदायित्व र राष्ट्रिय एकताको भावना जागृत गराओस् । सत्य, सदाचार, सद्भाव, भाइचारा र सहिष्णुताको मार्गमा अग्रसर रहन हामी सबैलाई प्रेरणा मिलोस्।”

दशैंको अवसरमा गरिने पूजापाठ, सांस्कृतिक कार्यक्रम, परम्परागत नृत्य तथा गीत–संगीतले हाम्रो सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै स्थानीय अर्थतन्त्रलाई सक्रिय बनाउन सघाउने उनको भनाइ छ।

“नेपाल विविध सांस्कृतिक, धार्मिक, ऐतिहासिक, मौलिक र परम्परागत सम्पदा तथा रितिरिवाजहरुले समृद्ध मुलुक हो। यहाँ मनाइने चाडपर्वहरू राष्ट्रिय एकता, सामाजिक घनिष्टता, आध्यात्मिक चेतना र सांस्कृतिक निरन्तरताका संवाहक हुन्। हाम्रा पर्वहरूले परम्परागत मूल्य-मान्यता, जीवनशैली र सामाजिक सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्रिय पहिचान तथा एकतालाई अझ सशक्त बनाउन सहयोग पुग्दछ”, सन्देशमा भनिएको छ।

यस पर्वले विगतका कटुताहरूलाई विस्मृत गर्दै एक–अर्कामा शुभेच्छा साटासाट गर्ने अवसर प्रदान गर्ने र सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.