दशैंमा मासु खाँदा के-के कुरामा ध्यान दिने ?

36
Shares

विशेषगरी बडादशैँ मासुसँग जोडिन्छ, तिहार चाहीं धेरैजसो मिठाइसँग सम्बन्धित छ। तिहारमा सेलरोटीसँग पनि जोडिन्छ। मासुको कुरा गर्दा मानिसहरुका लागि यो प्रोटिनको राम्रो स्रोत हो। मासुलाई विधि पुर्याएर खायो भने धेरै नै फाइदा गर्छ।

हाम्रो समाजमा मांसाहारीहरूको संख्या धेरै छ। कतिपय मान्छेहरू मांसाहारभन्दा शाकाहार राम्रो हो, सागसब्जी नै उत्तम हो भन्छन्। तर मासुलाई पनि राम्रो तरिकासँग खायो भने नराम्रो होइन।

दशैँमा खसी काट्ने, त्यसपछि विभिन्न परिकारहरू बनाउने अर्थात कबाब, भुट्वालगायत विभिन्न परिकार बनाएर खाइन्छ। त्यस्तै कलेजो, भित्री अङ्गहरूको मासु साथै रगत समेत खाने गरिन्छ। कतिपय अस्वस्थ्यकर किसिमले पकाउने गरिन्छ।

साथै दशैँको समयमा मासु धेरै खाएर वा विशेषगरी खसीको मासु धेरै खाएर विभिन्न रोगहरुले आक्रमण गर्ने, आकस्मिक शारीरिक समस्याहरु देखापर्ने, मुटु एवम पेटका रोगहरू साथै अन्य स्वास्थ्य समस्याहरू देखिने गरेका छन्। यस्ता कुरामा विशेष सावधानी अपनाउनुपर्छ।

मासुको छनोट कसरी गर्ने ?

मासु र स्वास्थ्यको सम्बन्ध विशेष छ। दशैँको प्रसङ्गमा कुरा गर्दा दशैँमा छुट्टी हुन्छ, आफन्तहरू आउँछन्, रमाइलो गर्ने भन्ने कुरा हुन्छ, टीका लगाउन पाहुनाहरू आउँछन्। त्यो बेला मासु पकाएर खाने गर्दछौं। त्यसबेला रातो मासु अर्थात रेड मिट धेरै प्रयोग हुन्छ।

रेड मिटमा धेरै कोलेस्ट्रोल हुन्छ, धेरै चिल्लो पनि हुन्छ। यस्तो मासु खाँदाखेरि त्यसका असरहरू देखिने गर्छ। रेड मिटले शरीरमा कोलेस्ट्रोल धेरै नै बढाउँछ।

त्यसपछि मुटुमा लोड बढाउँछ, शरीरमा मुटुलाई धेरै चाप पर्छ, लोड बढी हुन्छ। अर्को कुरा रातो मासुमा नुन पनि धेरै हुन्छ। त्यसैले मासु छनोटमा धेरै ध्यान दिनुपर्छ। दशैंमा विभिन्न परिकारहरु प्रयोग हुने भएकाले नुन प्रयोगमा धेरै सावधानी अपनाउनुपर्छ।

मृत्युको जोखिम उच्च

शरीरमा नुनको मात्र बढी भयो भने ब्लड प्रेसर बढ्ने, त्यसले किड्नीलाई र दिमागलाई समस्या गराउँछ। शरीरमा नुन र चिल्लो धेरै जाँदा कोलेस्ट्रोलको मात्रा बढ्ने गर्छ।

फेरि रातो मासुले युरिक एसिड पनि बढाउँछ। युरिक एसिड बढी हुँदा बाथको समस्या देखिने, जोर्नी बेस्सरी दुख्ने समस्या आउन सक्छ। अस्पतालनै दौडिनुपर्ने अवस्था सिर्जना हुन्छ। खानपानमा नै सन्तुलन नमिल्दा युरिक एसिडको बाथ दशैंमै हुने भएकाले जोखिम बढाउँछ।

मुटुको धड्कन बिग्रिएर आउनसक्छ, रक्सी र कोल्ड ड्रिंक्सहरूले पनि धेरै समस्या निम्त्याउँछ। मुटुको धड्कन एकदमैसँग बिग्रने हुन्छ, त्यसलाई होलिडे हार्ट सिन्ड्रोम पनि भनिन्छ। छुट्टीको बेला मुटुको धड्कन बेतालले चल्ने हुन्छ। त्यस्तो हुँदा मुटुको पम्प राम्रोसँग मिलेको हुँदैन्।

मान्छेलाई श्वास फेर्न गाह्रो हुने, हार्ट फेल समेत हुनसक्छ। कहिलेकाहीँ त पक्षघात, स्ट्रोक भएर मान्छेको मृत्युसमेत हुनसक्छ। त्यसैले आकस्मिक समस्या दशैँको बेलामा देखिने गरेका छन्।

चाडपर्वका बेला खानपानमा सन्तुलन नहुँदा रक्तचाप बढेर अर्थात मासुकै कारण ब्लड प्रेसर एकाएक १८०-२०० सम्म पनि पुग्छ। जसले मुटु, आँखा, दिमागलाई नै असर पार्नसक्छ। चक्कर लाग्ने, बेहोस हुने समस्याले अस्पतालको इमर्जेन्सी वार्डमै पुर्याउन सक्छ।

तेस्रो अवस्थामा मासुकै कारणले गर्दाखेरि अपचको समस्या देखिन्छ। पित्तथैलीमा कसैको पत्थरी बसिराखेको छ भने मासुको चिल्लोपनाले गर्दाखेरि पित्तथैलीमा रहेको पत्थरी उकल्जिन्छ र एकदमै पीडा हुन्छ। एक्युट पेन (तीव्र दुखाइ) अर्थात कडा दुखाई हुन्छ, बमिटिङको समस्या देखिन्छ। मासु सेवनमा सन्तुलन नमिल्दा अकस्मात् रूपमा अस्पताल गएर अपरेसन नै गर्नुपर्ने पनि हुन्छ

खसीको रगत खान मिल्छ कि मिल्दैन् ?

दशैं वा अन्य विशेष अवसरमा रगत खाने चलन पनि छ। रगतमा धेरै जीवाणुहरू हुन सक्छन्। वास्तवमा सबै खसीहरू स्वस्थ्य हुन्छन् भन्ने छैन। त्यो सोझै रगत खाँदाखेरि देखिनसक्छ।

त्यसमा फेरि नुन पनि प्रशस्त हुन्छ। आन्द्राभुँडी सब मिसाएर भुटेर खाँदापनि त्यो कति स्वस्थ्य हुन्छ भन्न सकिँदैन। त्यसैले धेरै नुन र मसला हालेर पकाउनु हुँदैन्। पकाउने तरिका परिवर्तन गर्नुपर्छ।

मासु खाँदा के कुरामा विषेश ध्यान दिने ?

मासु खाँदा पनि धेरै कुरामा ध्यान दिनुपर्छ। मासु आज पकाइयो, सबै आज खाइँदैन। खसी काटेर पकाउने अनि भोलि वा पर्सि त्यही मासुलाई झिक्दै र तताउँदै खाने गरिन्छ। त्यो ताजा हुँदैन्, बासी मासु खाइन्छ।

त्यसले पनि असर पार्छ। मानिसहरू दशैँको बेलामा हिँडडुल गर्दैनन्, घरैभित्र बस्ने, खाने पिउने र जुवातास खेल्ने गर्छन्। बाहिरी खेलकुद वा शारीरिक गतिविधि पनि हुँदैन्। जसले गर्दाखेरि खाएको राम्रोसँग पच्दैन। त्यसैले शारीरिक गतिविधि गरिरहनुपर्छ।

कतिपयले त मासु खाइसकेपछि हरियो सागसब्जी, फलफुलहरू, सलादहरू खाँदैनन्। ति खानेकुरा खायो भने फाइदा हुन्थ्यो। तर मानिसहरुले मिठाइ वा जंक फुड्सहरू खाने गर्छन्। ति अस्वस्थकर हुन्।

दशैंको मासु तिहारसम्म राखेर खान मिल्छ ?

मासु वा अरू खाद्य सामग्रीहरू बासी खानु हुँदैन्। जति धेरै समयसम्म राख्यो, विग्रिदै जान्छ। पकाएको मासु अलिक धेरै समय टिक्छ भनिन्छ, पहिला–पहिलाको दशैँमा चिसो सुरु भइसकेको हुन्थ्यो। तर यतिबेला चिसो छैन, गर्मी छ।

अहिले पनि पंखा चलाउनुपर्छ, एसी चलाउनुपर्छ। मासुलाई सबैले फ्रिजमै राख्छन् भन्ने छैन्। बाहिरै पनि राख्ने गरेका छन्। त्यसैले मासु बासी हुनेबित्तिकै विग्रन थाल्छ, भित्र–भित्र कुइन थाल्छ। त्यसैले बासी खानेकुरा खाँदा नपच्ने समस्या हुने भएकाले शरीरलाई असर पुर्याउँछ।

मासु कति मात्रामा र कसरी खाने?

मासुसँग अरू चीजहरू, गेडागुडी वा तरकारी खायो वा व्यायाम भयो पच्नसक्छ। मासुको गुणस्तर स्वस्थ्यकर भएन भने समस्या देखिन्छ। मासु बेच्नेले स्वथ्यकर बेचेन भने वा खसीलाई कतिले इन्जेक्सन लाएर मासु बढाएका होलान्, कतिले एन्टिबायोटिक र विभिन्न प्रकारका खुवाएका हुन सक्छन्। त्यसैले सबै मासु स्वस्थ्यकर हुन्छ भन्ने छैन।

मासु खाने क्रममा छाला एवम रगत समेत खाने चलन छ। छाला भनेको कोल्डस्ट्रोलको स्रोत हो। मासुबाट छाला निकालियो भने फेरि स्वादै जानसक्छ। तर त्यो मासुमा गुणस्तरको प्रश्न उब्जिन्छ। त्यसैले त्यसमा स्वस्थ्यकर हुनुपर्छ। स्वास्थ्यलाई खराब नहोस् भन्नका लागि बासी राख्नु हुँदैन्। तुरुन्तै पकाउनुपर्छ।

कति खाने भन्ने कुरा आफैंलाई थाहा हुनुपर्छ। अटसमटस हुनेगरी खायो भने शरीरलाई धेरै नै असर गर्छ। खाँदा थोरै थोरै खाने, सलादसँग खाने, दिनदिनै ताजा पकाएर खाने गर्नुपर्छ। धेरै चिल्लो नहालिकन पकाएर खाने गर्नुपर्छ। फलफुलहरु प्रशस्त खाने, र व्यायाम गर्ने गर्नुपर्छ।
खाना र स्वास्थ्यको बीचको सम्बन्ध

खाना र स्वास्थ्यको बीचमा त धेरै ठूलो सम्बन्ध छ। जस्तो खायो, त्यस्तै शरीर बन्छ। राम्रो खाना खायो भने स्वास्थ्य पनि राम्रो हुन्छ। स्वास्थ्य आहारले शरीर राम्रो बनाउँछ। कसैको शरीरै हेरेर पनि थाहा हुन्छ, उहाँले कस्तो खाना खानुहुन्छ भन्ने थाहा हुन्छ।

यदि कसैको पेट एकदम ठूलो देखियो भने उसले गुलियो र चिल्लो धेरै खान्छ भनेर अनुमान लगाउन सकिन्छ। कोही धेरै मोटो छ भने उसले जंकफूड धेरै खान्छ भन्ने पनि बुझ्नुपर्छ।

जो मान्छेले ओभरडाइट गर्छ, चाहिनेभन्दा बढी खान्छ, कम एक्सरसाइज गर्छ भने उसको शरीरमा पक्कैपनि समस्या आउँछ। त्यसैले शरीर एवम स्वास्थ्य राम्रो बनाउन आहारमा सन्तुलन नै हुनुपर्छ। विश्व स्वास्थ्य संगठनले पनि मान्छेको स्वास्थ्य सुरक्षा, स्वस्थ्य जीवनशैली प्रवद्र्धनमा जोड दिएको छ।

तर हिजोआज मानिसहरुमा धेरै रोग लाग्ने गरेको, मुटुमा समस्या देखिने गरेको, ब्लड प्रेसर बढ्ने गरेको पाइन्छ। युवा अवस्थामै अथवा २०–२५ वर्षको उमेरमा मान्छेहरु हार्ट अट्याक भइरहेको पाइन्छ।

मृत्युदर बढिरहेको र क्यान्सर पनि त्यत्तिकै भइरहेको पाइन्छ। किन यस्तो भइरहेको छ भन्दा खानपानकै कारण हो भनेर बुझ्न सकिन्छ। त्यसैले स्वास्थ्य जीवन शैली अपनाउन आग्रह गर्दछु र दशैं दशा नबनोस भन्न चाहन्छु।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *